एसईई प्रश्नपत्र आउट भएपछि सीआईबीले अनुसन्धान थाल्यो

काठमाडौं । जारी यस वर्षको माध्यामिक शिक्षा परिक्षा(एसईई)को प्रश्नपत्र प्रदेश २ मा परिक्षा अगावै बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अनुसन्धान थालेको छ ।

सिआईविका एक जना नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा अनुसन्धान टोली प्रदेश दुई पठाएर अनुसन्धान थालेको हो । यसअघि बिहीबार र शुक्रबारको अनिवार्य विज्ञान र सामाजिक अध्ययन विषयको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

प्रहरी अधिकारीहरुले यो प्रकरणमा सत्य, तथ्य विवरण सार्वजनिक गरेर दोषीलाई कानुनी दायरामा ल्याइने दाबी गरेका छन् । ब्युरोका निर्देशन निरज शाहीले प्रकरणमा अनुसन्धान थालिएको पुष्टि गरे ।

‘यहाँबाट डीएसपी सा’बको नेतृत्वमा अनुसन्धानका लागि टोली पठाइसकेका छौं’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) शाहीले भने, ‘अनुसन्धान सुरु भइसक्यो ।’

विज्ञान विषयको प्रश्न पत्र लिक हुने वित्तिकै सीआईबीलाई अनुसन्धानका लागि अनौपचारिक रुपमा जानकारी गराइएको थियो । तर, शुक्रबारको प्रश्नपत्र पनि सार्वजनिक भएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेल आफैंले अनुसन्धान अघि बढाउन ब्युरोलाई निर्देशन दिएका थिए ।

Comments