प्रभु साहले जंगिदै उपेन्द्र यादवलाई भने–मन्त्री भएर राजाको जस्तो हर्कत गर्ने ?

काठमाडौँ । नेकपा नेता तथा सांसद प्रभु साहले उपप्रधानमन्त्री उपेन्द्र यादवको चर्काे आलोचना गरेका छन् । स्वास्थ्यमन्त्री समेत रहेका मन्त्री यादव संघियता विरोधी भएको टिप्पनी समेत सांसद साहले गरेका छन् ।

‘तपाईँ सत्ता बाहिर सडकमा हुँदा संघीयता कार्यान्वयन भएन भनेर चर्को कुरा गर्नु हुन्थ्यो, कहिले सडक बन्द त कहिले नाराजुलुस लगाउनु हुन्थ्यो तर अहिले तपाई आफै संघीयताको भावना विपरित राजाजस्तै भएर मन्त्रालय चलाई राख्नु भएको छ’ सांसद साहले भने ।

राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा सांसद साहले मन्त्री यादवलाई नौटंकी कर्ताको आरोप पनि लगाए । स्वास्थ्य मन्त्रालयले गरेका काम र भइरहेका प्रयासहरुबारे छलफल गर्न समितिले मन्त्री यादवलाई बोलाएको थियो । समितिको बैठकमा साहले मन्त्री यादवको बोली सत्ता बाहिर हुँदा र सत्तामा रहँदा फेरिएको बताए ।

मन्त्री यादवले मन्त्रालय अन्तर्गतका सेवा–सुविधा तथा कर्मचारी सरुवामा पक्षपात गरेको आरोप लगाए । ‘मन्त्रीज्यू राम्रो ठाउँमा जाने कर्मचारी यादव नै हुनुपर्ने हो ? मन्त्रालय अन्तर्गतका सेवा–सुविधा तथा बजेट आफ्नो पार्टीले जितेका स्थानीय तहमा मात्रै केन्द्रित गर्नु पर्ने  हो ’ सांसद साहले भने ‘संघीयताको नाममा तपाईले नौटंकी गर्नुभयो ।’ मन्त्री यादवले मन्त्रालयबाट पार्टी चलाउन खोजेको साहले बताए ।

Comments