कप्तान रुविनाको ह्याट्रिकसँगै नेपाल विजयी, कुवेत ३० रनले पराजित

काठमाडौं । कप्तान रुविना क्षेत्रीको ह्याट्रिकसँगै अलराउन्ड प्रदर्शनमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ३० रनले पराजित गरेको छ ।

बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि कप्तान मार्याम ओमारले सर्वाधिक २९ रन जोडिन् । यस्तै प्रियादा मुरालीले १४ तथा सब्रिन जाकी र मारियामा हेदरले समान १२र१२ रन बनाए ।

कुवेतलाई सस्तैमा समेट्न कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिईन् । रुबिनाले अन्तिम ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिएकी थिईन् । कुवेतलाई अन्तिम ओभरमा ३५ रन चाहिएको अवस्थामा बलिङ गर्न आएकी रुबिनाले पहिलो ३ बलमा एक वाईड सहित चार रन खर्चेकी थिइन् । त्यसपछिको बलमा भने रुबिनाले लगातार विकेट लिईन् ।

अन्तिम ओभरको चौथो बलमा खादिजा खालीललाई बोल्ड गर्दै रुबिनाले आफ्नो पहिलो तथा नेपालको लागि सातौं विकेट झारिन । पाँचौ बलमा रुबिनाले मदिहा जुबेरीलाई पनि बोल्ड गर्न सफल भईन् । त्यसपछि छैटौं बलमा जिफा जिलानीलाई बोल्ड गर्दै रुबिनाले ह्याट्रिक पुरा गरिन् । यस्तै करुणा भण्डारीले ३ विकेट लिईन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११६ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालको लागि बिन्दु रावलले अविजित रहदै सर्वाधिक २८ रनको योगदान दिईन् । ४८ रन जोड्दा ५ विकेट गुमाईसकेको नेपालको सम्मान जनक योगफलमा बिन्दुले ४९ बलमा एक चौका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १३ बलमा ३ चौकासहित २२ रन बनाईन् ।

यस्तै नेरी थापाले १९, काजल श्रेष्ठले १८ रन जोड्दा इन्दु बर्मा र रोमा थापाले समान ७र७ रन बनाईन् । नेपालकी ओपनर सिता राना मगर र सरिता मगर सुन्य रनमा पेभेलियन फर्किए ।

कुवेतका मर्याम ओमर र प्रियादा मुरालीले समान २र२ विकेट लिईन् । नेपालले प्रतियोगिताको ६ खेलमा ५ जित र १ हार बेहोर्यो । १० अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । अन्तिम खेलमा यूएई र थाईल्यान्डको खेलपछि शीर्ष टोलीको छिनोफानो हुनेछ । नेपाल दोस्रो चरणमा पुग्ने सम्भावना समाप्त भैसकेको छ ।

Comments