हेलिकोप्टर दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन्।

सभापति देउवाले दुर्घटनामा निधन भएका सबैको आत्माले शान्ति प्राप्त गरोस् भनी कामना गर्दै शोकसन्तप्त परिवारजनमा शोक सहने शक्तिका लागि प्रार्थना गरेका छन्।

यसैगरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन्।

शर्माले विद्यार्थी आन्दोलमा अधिकारीले खेलेको भूमिका स्मरण गरेका छन्। उनले निधन भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

शोक विज्ञप्ति:

ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाले जीवन गुमाएकोमा गहिरो दुःख लागेको छ। विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो ।

उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर के।सी। र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको छ ।

दुर्घटनामा निधन भएका सबैको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै शोक सन्तप्त समस्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवानसँग प्राथना गर्दछु ।

दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने विश्वास लिएको छु ।

शेरबहादुर देउवा
सभापति

Comments