भारतसंग प्रधानमन्त्री ओलीको आक्रोश २३ वर्ष वित्दापनि किन काम नगरेको ?

काठमाण्डौ । २३ वर्षसम्म भारतले एकीकृत महाकाली सन्धि अन्तर्गतका परियोजना पूरा नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन्। जल तथा उर्जा आयोगको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले महाकाली सन्धि कार्यान्वयन नगरेकोमा दक्षिणी छिमेकीप्रति असन्तुष्टि प्रकट गरेका हुन्।

नेपाल र भारतका उर्जाविज्ञको बैठक सुरु हुनुभन्दा एक दिन अगाडि प्रधानमन्त्रीले महाकाली सन्धिमा उल्लेख भएअनुसार नेपालले पानी र विद्युत् पाउनुपर्ने जनाए। बुधबारदेखि दुई देशका उर्जा विज्ञको बैठक सुरू हुँदैछ। जल, उर्जा तथा सिंचाईमन्त्री वर्षामान पुनसहित उपस्थित बैठकलाई सम्बोधन गर्दै उनले सन्धि कार्यान्वयन र देशको हितमा काम गर्न निर्देशन दिए। ‘सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै बस्ने स्थिति अब रहनु हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘महाकाली सन्धिको कार्यान्वयन गरी पानी र विद्युत प्राप्त गर्न एवं राष्ट्रहित हुनेगरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका बेला पनि सन्धि कार्यान्वयनको विषय उठाएका थिए। त्यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यसमा सहमत भएका थिए। मौखिक रूपमा सहमति जनाए पनि व्यवहारमा सन्धि कार्यान्वयन हुन नसकेको हो। उर्जामन्त्री वर्षामान पुनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना एकीकृत महाकाली सन्धिसँग सम्बन्धित आयोजना रहेको बताएका छन्। ‘त्यो आयोजनाबाट पाउने पानीको प्रयोग र त्यसबाट विद्युत् उत्पादन हाम्रो प्राथमिकता हो। त्यसमा हामीले पाउनु पर्ने पाइरहेका छैनौं’, मन्त्री पुनले भने, ‘कञ्चनपुर क्षेत्रमा सिंचाईको लागि भारतीय पक्षबाट बनाउनुपर्ने नहर बनाइएको छैन। प्रधानमन्त्रीले यो विषय उठाउन भन्नुभयो।’ सन्धिअनुसार नेपालले ३५० क्युसेक पानी पाउनुपर्छ। २०५२ माघ १९ गते महाकाली सन्धि भएको थियो। सन्धिलाई संसदबाट पारित गराउने विषयमा विवाद चुलिँदा तत्कालीन एमाले पार्टी फुटेको थियो। ओली त्यतिबेला सन्धिको पक्षमा उभिएका थिए। २३ वर्षसम्म पनि सन्धि कार्यान्वयन नहुँदा ओलीले असन्तुष्टि जनाएका हुन्।

Comments