किसानले आफ्ना उत्पादन खेर फाल्नुपर्ने अवस्थाको छिट्टै अन्त्य हुनेछ : मन्त्री खनाल

काठमाडौं । किसानले सडकमा दूध पोख्नुपर्ने र खेतीमा डोजर लगाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम गरिरहेको दावी गरेकाे छ ।

राष्ट्रियसभाको आजको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानले उत्पादन गरेका दूध र तरकारीको बजार व्यवस्थापनका लागि देशैभरि भण्डारण गृह र सङ्कलन केन्द्र स्थापनाका लागि योजनाबद्ध प्रयास गरिएको बताए ।

हालै मात्र झापाका किसानले दूध बिक्री नभएको भन्दै सडकमा पोख्नुपरेको थियो । यस्तै चितवनका किसानले आफूले लगाएको तरकारी बिक्री नभएपछि डोजर लगाउनुपरेको थियो । दूध पोख्ने अवस्थाको अन्त्यका लागि पाउडर दूध उत्पादनका गर्न देशका विभिन्न स्थानमा कारखाना चलाइएको र निजी क्षेत्रलाई समेत त्यसमा सहभागी गराइएको उनले जानकारी दिए ।

“मुलुक कृषिप्रधान भए पनि कृषि उपजको आयात बढी भएको र विप्रेषणबाट प्राप्त भएको रकम खाद्यान्नका लागि खर्च गर्नुपर्ने अवस्था छ, अब किसानले आफ्ना उत्पादन खेर फाल्नुपर्ने अवस्थाको छिट्टै अन्त्य हुनेछ ”, मन्त्री खनालको भनाइ थियो ।

कृषि उत्पादन दोब्बर बनाउने कार्ययोजनाका साथ काम भइरहेको जानकारी दिँदै उनले मन्त्रालयको स्रोत साधनअनुसार सिँचाइ मल र बीउ उपलब्ध गराउने तथा बाँझो जमीनको समस्या समाधान गर्ने र श्रम शक्ति पलायन हुनबाट रोक्ने प्रयास गरिएको उल्लेख गरे।

 यस्तै उखु किसानलाई सरकारले दिने भनेर निर्णय गरिएको समर्थन मूल्य प्राप्त नभएको भन्ने गुनासो सम्बोधन गरिने र कुनै पनि समस्या आउन नदिइने बताए । मन्त्री खनालले गहुँको समर्थन मूल्य तोकिएको र आगामी वर्षका लागि धानको समेत चैतभित्रै समर्थन मूल्य तोकिने जानकारी दिनुभयो ।

Comments