नाटक ‘टु बि’ : मुख्य पात्रहरु ब्रस र स–साना खेलौना

नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव २०७५ को तेस्रो दिन बुधबार पहिलो नाटकको रूपमा कीर्तिपुरस्थित किर्तिपुर रङ्गमञ्च, थिएटर मलमा डेनमार्कको नाटक ‘टु बि’ प्रस्तुत गरियो ।

नाटकको निर्देशन ज्याक्युज सेफेरियन क्याथेसिनले गरेका हुन् । यो नाटक प्रस्तुतिको हिसाबले निकै नै रोचक रह्यो । उनी बालबालिकालाई वरिपरि राखेर एउटा टेबलमाथि सम्पूर्ण नाटक मञ्चन गर्छन् ।

उनी साठी जनालाई मात्र नाटकमा दर्शक राख्छन् । तर महोत्सव भएका कारण धेरै दर्शकले साठी जनाको घेराभन्दा बाहिर बसेर पनि नाटक हेरेका थिए । उनले साठी दर्शकलाई नजिक राखेर नाटक देखाउनुको कारण हो– उनका पात्रहरू असाध्यै साना हुन्छन् । सुन्दामात्रै चाहिँ यो अचम्म लाग्छ कि उनका मुख्य पात्रहरू ब्रस हुन्छन् । दाँत सफा गर्ने ब्रस, पेन्टिङ गर्ने स–साना बल तथा स–साना खेलौना ।

त्यसमार्फत उनी ठूल्ठूला कथा भन्छन् । टु बी नाटकमा पनि उनी मानिस भइसकेपछि आवश्यक पर्ने आधारभूत कुराबारे कथा भन्छन् ।
उनी बेलुनमार्फत जीवन र यसका अवस्थाबारे चित्रण गर्छन् । त्यो पनि स–साना बेलुन, जो बालबालिकाहरू खेल्छन् ।
उनका पात्र ब्रस र खेलौनाहरूलाई विना भाषा कथाको प्रवाह दिन्छन् ।

मानिस प्रकृतिको नजिक छ । त्यही प्रकृतिमा एक युवती हुन्छिन् । ती युवती संसारलाई देखेर अचम्भित हुँदै जान्छिन् । त्यहाँ उनलाई समानताले प्रभाव पार्छ । सुरक्षाले प्रभाव पार्छ । राष्ट्रियताले प्रभाव पार्छ । अनि त्यसका विरुद्ध आन्दोलनमा पनि सहभागी हुन्छन् । जहाँ उनको श्रीमान मारिन्छ ।

Comments