प्रियंका र आयुष्मान बने महिनावारी स्वच्छता दूत, अभियानमा मन्त्री मगरकाे साथ

काठमाडौं । खानेपानी मन्त्रालयले महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ । महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई  महिनावारी दूत नियुक्त गरिएकाे हाे ।

मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच भएको सहमति अनुसार उनीहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो । खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवैलाई हस्तान्तरण गरेकी छिन् ।

महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको मन्त्री मगरले बताइन् । महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिंदै । उनले महिनावारी हुँदा महिलाहरुले झेल्नुपरेका समस्याका विषयमा सबैले सकारात्मक सोच राख्नुपर्नेमा जाेड दिइन् ।

कलाकार तथा अभिनेत्री प्रियंका र आयुष्मानको जोडीले पहिलो चरणमा धनुषाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन् ।

Comments