नक्कली १७ वर्षे सहसचिव ! पोखरा पुगेपछि पोल खुल्यो

पोखरा । आफूलाई सहसचिव बताउँदै प्रहरी र जनप्रतिनिधिलाई समेत झुक्याउँदै हिँडेका एक व्यक्ति पोखराबाट पक्राउ परेका छ ।

राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको सहसचिव भएको बताउँदै प्रहरी र जनप्रतिनिधिलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले इलामका १७ वर्षीय सन्देश रम्तेललाई पक्राउ गरेको हो । लेकसाइडको एक होटलबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले रम्तेलसहित उनका सवारी चालक संगम राईलाई समेत पक्राउ गरेको छ । इलामका सन्देश रम्तेल निजी गाडी भाडामा लिएर त्यसमा सेतो प्लेट हाली प्रहरीको स्कर्टिङसमेत लिएर पोखरा आइपुगेका थिए । रम्तेलले बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको स्कर्पियो प्रयोग गरेका थिए । रातो नम्बर प्लेटको गाडी भाडामा लिएर उनले नक्कली सेतो नम्बर प्लेट टाँसेको पाइएको छ ।

स्रोतका अनुसार उनी इलाम नगरपालिकाको पूर्वनगर स्तरीय बाल सञ्जालका अध्यक्ष पनि हुन् । यद्यपि, उनलाई कारबाही गरिएको नगरपालिकाका एक अधिकारीले जनाए । त्यसयता उनी विभिन्न संस्थाको नाम लिएर कार्यक्रमहरुमा उपस्थिति जनाउँथे । घटना भने होेटलको ३५ हजार बिल नतिरेपछि मात्रै सार्वजनिक भयो र उनलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ । उनी पोखराको लेकसाइडस्थित तेन्जिङ हिलारी होटलमा बसेका थिए ।

रम्तेलले आफूलाई राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘अध्यक्ष’ भनेर चिनाउँदै आएका थिए । यो सहसचिवस्तरको पद हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार संरक्षण समितिको कार्यालय सिंहदरबार, काठमाडौंको कार्ड भिरेर उनले प्रहरी र जनप्रतिनिधिलाई समेत झुक्याए ।

उनले देखाएको परिचयपत्र पनि नक्कली भएको खुलेको छ । रम्तेलले परिचयपत्र वीरगञ्जमा बनाएका थिए । उनको बयानअनुसार तनहुँमा प्रहरीले स्कर्टिङसमेत गरेको थियो । १०० नम्बरमा फोन हानेर हानेर स्कर्टिङको सुविधा लिने गरेको उनले दाबी गरेका छन् । उनी पर्वत, म्याग्दी हुँदै मुस्ताङसम्म पनि पुगेका थिए ।

यतिमात्र होइन, उनले पोखरा महानगरपालिकाबाट १० लिटर इन्धनको कुपनसमेत लिएका थिए । उपमेयर मञ्जुदेवी गुरुङलाई समितिको अध्यक्ष भनेर झुक्याएको र महानगरपालिकाबाट १० लिटर तेलको कुपन लिएर प्रयोग गरेको अनुसन्धानका क्रममा बयान दिएका छन् ।

सन्देशले राष्ट्रिय बाल अधिकार संरक्षण समिति ‘अध्यक्ष’ को नक्कली कार्ड विभिन्न जिल्लामा सरकारी सुविधा उपभोग गर्दै आएका थिए । होटलको बिल तिर्ने बेलामा पनि रम्तेलले राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयले खातामा हालिदिने भन्दै उम्कन खोजेका थिए । तर, होटल मालिकले प्रहरीलाई खबर गरे र उनी पक्राउ परेका हुन् ।

सहसचिव बताउँदै ठगी गर्ने रम्तेलमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments