काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग शिखरवार्ताका लागि मंगलवार भियतनाम पुगेका छन् । शिखरवार्तामा दुई नेता उत्तर कोरियाको आणविक हतियार कार्यक्रम त्याग्ने विषयमा सहमतिमा पुग्ने प्रयास गर्नेछन् । ट्रम्प भियतनामको राजधानी हनोईमा मंगलवार बेलुका पुग्नेछन् ।
ट्रम्पले बुधवार बेलुका किमसँग छोटो ऐकान्तिक वार्ता गर्नेछन् र त्यसपछि उनीहरू रात्रिभोजमा संलग्न हुनेछन् । उनीहरूलाई दुई अतिथि र अनुवादकले पनि साथ दिने ह्वाइट हाउसकी प्रवक्ता साराह स्यान्डर्सले पत्रकारहरूलाई बताइन् । बिहीवार दुई नेताबीच थप बैठकहरू हुने उनले जानकारी दिइन् ।
सिंगापुरमा आठ महिनाअघि भएको ऐतिहासिक शिखरवार्तापछि यो वार्ता हुन लागेको हो । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका नेताबीच कहिल्यै पनि त्यसरी वार्ता भएको थिएन । अमेरिकालाई जोखिममा पार्ने आणविक हतियारबाट उत्तर कोरियालाई निःशस्त्रीकरण गर्ने विषयमा अन्तिम सम्झौता दोस्रो बैठकका क्रममा हुने कुनै ठोस अपेक्षा नभएपनि सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध
आधिकारिक रूपमा अन्त्य भएको औपचारिक घोषणा हुने आशा चाहिँ गरिएको छ । तर यसको बदलामा अमेरिकाले किमका तर्फबाट आणविक निःशस्त्रीकरणको वाचाको अपेक्षा गरेको छ । किम उत्तर कोरियाको राजधानीबाट ट्रेन चढेर भियतनाम पुगेका थिए । चीनसँगको सीमा पार गरेर उनी भियतनामी शहर डोङ डाङको स्टेसन पुगेका थिए ।
स्टेसनमा उनलाई भियतनामी अधिकारीहरूले रातो कार्पेछ ओछ्याएर स्वागत गरेका थिए । उत्तर कोरिया र भियतनामका झण्डा फह–याउँदै उनलाई सम्मान गारद पनि चढाइएको थियो । किम डोङ डाङमा ट्रेनबाट उत्रेर मर्सिडिज बेन्जमा चढेको देखिएको थियो । त्यहाँबाट उनी १७० किलोमिटर टाढा रहेको हनोई पुग्नेछन् । सडकका किनारमा उत्तर कोरिया र भियतनामका झण्डा हल्लाइरहेका किशोरकिशोरीहरूलाई कारभित्रैबाट किमले हात हल्लाएका थिए । उनको कारसँगै लगभग एक दर्जन अंगरक्षक पनि दौडिएका थिए ।
किम र ट्रम्प दुवैले भियतनामी नेताहरूसँग छुट्टाछुट्टै वार्ता गर्नेछन् । अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओ पनि मंगलवार हनोई पुगेको उनीसँगै यात्रारत एक पत्रकारले जानकारी दिए ।

Comments
Post a Comment