कांग्रेसद्वारा संसद बैठक अवरुद्ध, गोविन्द केसीको जीवन रक्षा गर्न माग

काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।बिहीवार बसेको संसद बैठकमा शुरूमा सभामुखसँग समय लिएर कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले डा. केसीको जीवन रक्षाको माग गर्ने बाटो नबन्दासम्म संसदको बैठक चल्न नदिने बताए ।

उनले वार्तामार्फत् निकास खोज्न आग्रह गरे । प्रतिपक्षी दलको नेताको उपस्थिति विना संवैधानिक परिष्दको बैठक बसेकोप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति पनि असन्तुष्टि जनाएको छ ।

‘सभामुख महोदय यो सभा सरकारको उत्पत्तिको लागि मात्र होइन, सरकारलाई जनताप्रति निरन्तर उत्तरदायी बनाउनु सभामुखको भूमिका हो,’ रिजालले भने । स्व. कृष्णप्रसाद भट्टराईको भूमिका स्मरण गर्दै सभामुखलाई आगामी दिनमा सत्ता र पतिपक्षको साझा नेताको रुपमा काम गर्न आग्रह गरे ।

रिजालले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको योगदानको अवमूल्यन गरेका कारण आफूहरूले संसदको बैठक अवरुद्ध गर्नुपर्ने अवस्था आएको उनले बताए ।

रिजालले बोले लगत्तै कांग्र्रस सांसदहरु उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले आगामी २० माघसम्मको लागी संसद बैठक स्थगित भएको जानकारी दिएका थिए ।

Comments