शपथ लिएसँगै मनाङ्गेकाे नजर मनाङकाे विकासतिर

काठमाडाैं । झण्डै १४ महिनापछि शपथ लिएका दिपक मनाङ्गे नामले चिनिने राजीव गुरुङले अब मनाङको बाटोघाटो, शिक्षा र स्वास्थ्यमै केन्द्रित हुने बताएका छन् ।

प्रदेश सांसद भएको शपथ लिएसँगै पत्रकारहरुसँग कुरा गर्दै मानाङ्गेले यस्ताे बताएका हुन् । गण्डकी प्रदेश सभामा सोमबार उनलाई प्रदेश सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनियताको शपथ खुवाएका थिए । शपथ खाएसँगै मनाङ्गेकाे नजर मनाङकाे विकासतिर गएकाे छ ।

शपथपछि मनाङ्गेले ढिलै भए पनि राम्रो भएको पत्रकारसमक्ष प्रतिक्रिया दिए ।  स्वतन्त्र रुपमा चुनाव जितेको भए पनि उनले अब आफ्नो समर्थन सत्तापक्षलाई हुने जानकारी समेत दिए ।

मनाङ्गेको शपथ हुनेभएपछि उनका शुभेच्छुकहरु पोखरा नदीपुरस्थित प्रदेशसभा बाहिर उनलाई बधाई दिन जम्मा भएका थिए । गत पुस २२ मा बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकले तत्कालका लागि मनाङ्गेको शपथ नगराउने र त्यसको पूर्णतः अधिकार सभामुखलाई दिने निर्णय गरे पनि आज बसेको बैठकले शपथ गराउने निर्णय गरेको थियो ।

डिल्लीबजार कारागारमा रहेका मनाङ्गे ६ पुसमा सर्वोेच्चबाट तारेखमा रिहा भएपछि शपथका लागि गण्डकी प्रदेशसभा सचिवालयमा पुस १२ मा निवेदन बुझाएका थिए । ज्यान मार्ने उद्योगको मुद्दा पुनरावेदन हुने र हाल थुनाबाहिर रहेकाले मनाङेले प्रदेश सांसदका रूपमा शपथ लिन पाउनुपर्ने माग गर्दै आएका गिए ।

Comments