‘चारतारे र लालतारे बनेर होइन, देशको सेवा गर्ने सोच राखेर आउनुहोस् स्वागत छ’: मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्य टेलिभिजन भन्दा नेपाल टेलिभिजनमा केही फरक दायित्व भएको बताएका छन् ।

मन्त्री बाँस्कोटाले राजनीतिक कार्यकर्ता बनेर सरकारी सञ्चारमाध्यममा गडबडी गर्नेहरुलाई सरकारले नसहने पनि बताए । उनले टेलिभिजनलाई राजनीतिक कार्यकर्ताको आवश्यकता नरहेको समेत बताए । मन्त्री बाँस्कोटाले सरकारी संस्था नभई राष्ट्रको टेलिभिजन, जनताको टेलिभिजन भएको बताए।नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव र एचडी प्रविधि आरम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘नेपाल टेलिभिजनमा कुनै सरकारी हस्तक्षेप छैन। सरकारकै विरोधमा सामग्री प्रसारण हुँदा पनि सरकारले केही भनेको छैन। यो संस्था बनाउने कार्यरत कर्मचारी र पत्रकारको हो। सरकारले सँधै सहयोग गर्दै आएको छ।’

मन्त्री बास्कोटाले आफूले दिएको निर्देशनअनुसार माघ १७ मा नेपाल टेलिभिजन एचडीमा गएको भन्दै अब ६ देखि ८ महिनाभित्र सार्वजनिक प्रसारण सेवामा लगेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । चाहेमा हुने रहेछ भन्ने कुरा टेलिभिजन व्यवस्थापनले देखाएको भन्दै उनले अब पीएसबीमा पनि गएरै छाड्ने बताए । मन्त्री बास्कोटाले भने– ‘नेपाल टेलिभिजन धेरै अघि एचडीमा जानुपर्ने थियो, तर जान नदिने तत्व पनि यहीँभित्र छन् । नेपाल टेलिभिजन निजी क्षेत्रसँग प्रतिस्पर्धी होइन, पहिलो हुनैपर्छ । पीएसबीमा गएपछि नेपाल टेलिभिजनलाई जित्ने संस्था कुनै हुने छैनन् ।

टेलिभिजनका पत्रकार र व्यवस्थापकलाई सम्वोधन गर्दै मन्त्री बास्कोटाले भने, ‘सरकारको सेवा गर्नुपर्दैन । तर, राष्ट्रको र संस्थाको हित हेर्नुस् । व्यक्तिलाई ल्याएर मानमर्दन गर्ने, चोरचार गर्ने र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने अखडा नेपाल टेलिभिजन हुन सक्दैन ।’

उनले नेपाल टेलिभिजनलाई नयाँ प्रविधिमा लान गाह्रो मानेर र त्यसमा निहुँ खोजेर अरुकै सेवा गर्ने प्रवृत्त रहेको भन्दै त्यसको अन्त्य गर्ने बताए। ‘यस टेलिभिजनले अरुसँग प्रतिस्पर्धा गरोस् भन्ने, खेतमा कुटो कोदालो र पानी नदिने अनि मंसिरमा धान खोज्ने कसरी सम्भव हुन्छ ?’ उनले भने ‘चारतारे र लालतारे बनेर आउनेलाई फरक दृष्टिकोणले हेरिन्छ । नेपाल टेलिभिजनमार्फत देशको सेवा गर्ने सोच राखेर आउनेलाई स्वागत छ ।’

मन्त्री बाँस्कोटाले अबको ६ महिनापछि सार्वजनिक प्रसारण संस्था (पीएसबी) मा जानुपर्ने आग्रह गरे । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर पिएसबीमा लान कानूनी प्रबन्ध हुन बाँकी रहेको छ।

Comments