नेपाल आज यूएईसंग पहिलो दिनको टि–ट्वान्टी खेल्दै

काठमाण्डौ । एकदिवशीय सिरिजमा कब्जा जमाइ सकेको नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)संग आज पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्दैछ ।

एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि यूएई भ्रमणमा रहेको नेपालले पहिलो टी–ट्वान्टी खेल्न लागेको हो । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउसो २ः४५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिज जीतेको नेपाल टी–ट्वान्टी सिरिज समेत जित्ने लक्षमा रहेको छ । सोमबार यूएईलाई ४ विकेटले हराएर नेपालले ३ खेलको एकदिवसीय क्रिकेट सिरिज २–१ ले जित्दै पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज हात पारेको थियो ।

घरेलु टोलीविरुद्धको पहिलो टी–ट्वान्टीका लागि मैदान उत्रदा नेपाल अर्को इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने छ । घरेलु टोलीसंगको सिरिज जीते नेपालले पहिलो पटक नै टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज समेत आफ्नो नाममा लेखाउनेछ । टी–ट्वान्टी विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–ट्वान्टी सिरिज जित्न सकेको छैन । तर, यसपटक नेपाललाई अर्को इतिहास रच्ने मौका रहेको छ ।

Comments