काठमाण्डौ । दक्षिण एसियामै नेपाल धेरै भ्रष्टाचार हुने देशहरुको तेस्रो स्थानमा परेको छ । ट्रान्परेन्सी इण्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचक सीपीआईले नेपाल १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा रहेको छ ।
दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा धेरै र बंगलादेश दोस्रो धेरै भ्रष्टाचार हुने देशका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१८ मा विश्वका १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यावसायीको अवधारणामा आधारित भएर ट्रान्सपरेन्सी इन्टरनेसनलले मापन गरेको थियो। यस सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ।
टिआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ। यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको हो। यस वर्षको सूचकांकमा समावेश १८० देशमध्ये डेनमार्क कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया १० अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ।
ट्रान्सपरेन्सी इण्टरनेशनलले विश्वका १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरी एकसाथ प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ ।
Comments
Post a Comment