राष्ट्रिय सभामा कांग्रेस सांसदको सभ्य शैली, न आसनमा बसे न मन्त्रीको बाटो छेके

काठमाडौं । प्रतिनिधिसभाबाट नाराबाजी र तिव्र असन्तुष्टीकाबीच पारित चिकित्सा शिक्षा बिधेयक राष्ट्रिय सभामा टेवुल गर्दा प्रतिपक्ष दल सांसदहरुले चर्काे नाराबाजी र विरोध गरेका थिए । प्रतिनिधिसभाकै शैली उत्रेर उनीहरुले रोष्टम घेरेका थिए भने सरकारको तिव्र आलोचना गरेका थिए ।

तर विहीवार राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक पारित गर्दा प्रतिपक्ष दल कांग्रेसको शैली फेरिएको छ । कांग्रेस सांसदले विरोध पनि गरे, बिधेयकमा छलफल र संशोधन पनि पेश गरे । सभ्य र सालिन शैलीमा कांग्रेस सांसदहरु राष्ट्रिय सभामा देखा परे । राष्ट्रिय सभामा विरोध गरेपनि कांग्रेसका सांसदहरुले चिकित्सा शिक्षा बिधेयकको प्रक्रियामा भने सामेल भएका थिए । कांग्रेसका तर्फ राधेश्याम अधिकारीसहित तीन सांसदले संशोधन प्रस्ताव पनि राखेका थिए ।

बैठकमा आफ्नो असन्तुष्टी पोख्दै र पार्टी निर्देशन मान्दै आसनबाट उठे तर छलफलमा भाग पनि लिइरहे । नत नारबाजी लगाए नत संसदको प्रक्रियाभन्दा बाहिर गए । रोष्टममै पुगेर उनीहरुले आफ्नो संशोधन प्रस्ताव राखे । आफ्नै पार्टीको विरोधकाबीच कांग्रेसका संसादहरुले संशोधन प्रस्ताव राखेर लोकतान्त्रिक मुल्य मान्यताको संस्कार देखाए ।

विहीवार विहानमात्र कांग्रेस संसदीय दलको बैठकले दुवै सदन चल्न नदिने निर्णय गरेको थियो । कांग्रेस राष्ट्रिय सभाका सांसदहरुले अवरोध गरेनन् तर विरोध भने गरिरहे । बैठक सुरु भएदेखि विधेयक पारित हुँदासम्म उनीहरु निरन्तर आफ्नो आशनबाट उठे तर मन्त्रीलाई विधेयकमाथी उठेका प्रश्नको जवाफ दिन पारितको प्रताव गर्न कांग्रेस सांसदहरुले रोकनन् ।

Comments