‘नेविसंघभित्रको विवाद टुङ्गिएको छैन, स्ववियुको निर्वाचन सारौं’: सशांक कोइराला

भरतपुर । नेपाली कांग्रेसका महामन्त्री डा.सशांक कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन् ।बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसंघभित्रको विवाद र नेतृत्वको टुङ्गो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्नुपर्ने माग गरेका हुन् ।

‘नेविसंघमा तदर्थ समिति बनाउने कि अर्को समिति बनाएर अधिवेशन गर्ने, त्यसमा हामी छलफल गर्दैछौं’, महामन्त्री कोइरालाले भने, ‘त्यस कारण स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छौँ ।’ यही महिना बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले नेविसङ्घको विवाद टुङ्गाउने उनले बताए ।

यसैसबिच महामन्त्री कोइरालाले पार्टीको क्रियाशील सदस्यता वितरण गर्न काङ्ग्रेस गाउँगाउँमा जाने बताए । चार वर्षपछि हुने निर्वाचनमा पहिलो पार्टी हुने गरी काङ्ग्रेसले काम गर्ने उनको जिकिर छ । ‘आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चाहिने कि नचाहिने भन्ने बहस शुरु भएको छ’, उनले भने, ‘पार्टी सभापतिको क्रियाकलापले उनको कार्य क्षमतामै प्रश्नचिह्न खडा भएको छ ।’

जिल्लाका नेता कार्यकर्ताको सल्लाह र सुझावअनुसार आगामी महाधिवेशनमा अघि बढ्ने उनले बताए ।

Comments