डा. केसीका मागबाट गुमेको विरासत फर्काउने दाउपेच चल्यो, अनसन रोक्नुहोस्- डा. पौडेल

काठमाडौं । डा. गोविन्द केसीलाई अनसन तोड्न चिकित्सकहरुले नै सल्लाह दिन थालेका छन् । प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा बिधेयक अध्ययन गरेपछि केही चिकित्सकहरुले उपलब्धी रक्षा गर्न अनसन तोड्नु पर्ने सुझाव दिएका छन् । डा. गोविन्द केसीको नाममा केही दलहरुले राजनीति गर्न थालेपछि अनसन तोड्न सुझाव दिएका छन् ।

‘डा गोविन्द केसीका नाममा केही दलहरुले राजनीति गरे, उनीहरुको उदेश्य पवित्र देखिएन,  गुमेको विरासत फर्काउने दाउपेच देखियो’ नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्रा.डा ढुन्डीराज पौडेलले भने ‘प्राप्त उपलब्धीको रक्षा र सुधारका निम्ती अनसन अन्त्य गर्न हामीले सुझाव दिएका छौ ।’

डा. गोविन्द केसीका मागलाई लिएर चिकित्सकहरु पनि रिल अनशन थालेका थिए । तर अनशनमा बस्ने चिकित्सकहरुको संख्या घटन थालेको छ । मंगलबार २१ चिकित्सक मात्र रिले अनसनमा बसे । अधिकाँस चिकित्सकहरु आफ्नो निजि क्लिनिकतिर दिनभर ब्यस्त भए । चिकित्सकहरुको आन्दोलन पनि कमजोर बन्दै गएको भन्दै प्राडा पौडेलले अनशन तोड्न केसीलाई आग्रह गरेका छन् ।

डा. केसीका मागहरु ठीक भएपनि समय र परिस्थितिलाई बुझन आवश्यक रहेको पौडेलले बताए । ‘मैले भनेको हुनुपर्छ नत्र मान्दिन भन्ने सोच राख्नु अस्वभाविक हैन । तर, व्यवहारिकता, संसदको सर्वोच्चता, र बाध्यताहरुका बीचबाट समाधान खोजिनु पर्छ’ डाक्टर पौडेलले भने ‘२१ दिनसम्म केसीको मागमा सुनुवाई भएन, अब कसैलाई राजनीति गर्ने ठाउँ दिनु पनि हुँदैन ।’ प्राप्त उपलब्धीको जगेर्ना र चिकित्सा सेवाको सुधारका लागि अनसन स्थगन गर्न सुझाव उनले दिएका छन् ।

Comments