नेकपाको कालिकोटमा पार्टी कार्यालय स्थापना, अझै लागेन नेतृत्वको टुंगो

कालिकोट । नेकपाले कर्णाली प्रदेशको कालिकोटमा जिल्ला पार्टीको पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेकपाको पार्टी कार्यालय धेरै जिल्लामा छैन । पार्टी कामलाई ब्यवस्थित गर्न नेकपा कर्णालीले औपचारिकरुपमा पार्टी कार्यालय स्थापना गरेको हो ।
शनिवार नेकपा कर्णाली प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका छन् । दुई पार्टी एकीकरण भएपनि गतिविधि भने दुवै कार्यालयबाट हुँदै आएका थिए । पार्टी कार्यालयको औपचारिक उद्घाटनपछि सवै काम नयाँ पार्टी कार्यालयबाट हुने भएको छ । पार्टी कार्यालयको उद्घाटनमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, अर्थ मामिला तथा केन्द्रीय सदस्य प्रकाश ज्वालासहितका नेताहरु कालिकोट पुगेका थिए ।

कर्णाली प्रदेश कमिटीको पहिलो बैठकले सवै जिल्लामा रहेका दुवै पार्टीको सम्पतिलाई एकीकृत गर्ने र नयाँ पार्टी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्लाबाट नयाँ पार्टी कार्यालय स्थापनाको सुरुवात भएको छ । पार्टी कार्यालय स्थापना भएपनि पार्टीको जिल्ला नेतृत्व भने अझै चयन भएको छैन । पुस महिनाभित्र जिल्ला, गाउँ, नगर र जनवर्गिय संगठनको एकीकरण सक्नेगरी पार्टी स्थायी कमिटीले टास्कफोर्स स्थापना गरेको छ ।

Comments