स्थायी कमिटीमा प्रधानमन्त्रीको जवाफ : मेरो पार्टीभित्र आलोचना भएको हो, बाहिर त वाहवाही छ

काठमाडौं । नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालनमा भएका गल्ती स्वीकार गर्न नसक्दा संकटमा फसेका छन् । विहीबार पार्टी मुख्यालय धुम्वाराहीमा बसेको स्थायी कमिटी बैठकमा प्रत्येक नेताले उठाएको प्रश्नको एक एक जवाफ दिने कोशिस ओलीले गरेका थिए । तर उनले पार्टी र सरकार सञ्चालनमा समस्या नभएको जिकिर गरे ।

-पार्टीभित्र मात्र मेरो बिरोध र आलोचना भएको हो, बाहिर त वाहवाही छ,-बैठकमा ओलीले भने- पहिलो पटक म गृहमन्त्री हुँदा जनताले मेरो काम रुचाएकै थिए, त्यसपछि पहिलो पटक प्रधानमन्त्री हुँदा चौतर्फी प्रशंसा कमाएकै थिए, ओलीले भने अहिले पार्टी भित्र आलोचना छ तर बाहिर वाहवाही छ ।

अध्यक्ष ओलीले पार्टी र सरकार सञ्चालनमा भएका गल्ती स्वीकार गर्न चाहेनन् । उनले अध्यक्षद्धयले राखेको राजनीतिक प्रतिवेदन जस्ताको जस्तै पारित गर्न प्रस्ताव गरे । तर नेता बामदेव गौतम, भीम रावल र घनश्याम भूषालले तत्कालै प्रतिवाद गरेपछि उनी संकटमा फसेका हुन् ।

नेताहरुको विरोधका बीच पनि ओली दस्तावेज अनुमोदन गराउन जोड गरिरहेका थिए। ‘संगठनात्मक सवालमा विगततिर नजाऔं, अबका काम कार्यदल वनाएर गर्ने गरि जान सकिन्छ,’ ओलीको भनाइ सुनाउँदै एक स्थायी समति सदस्यले भने, ‘तपाईंहरुका कुरा सुनेका छौं। टिपेका छौं। परिमार्जन गरेर सम्बोधन गछौं।’

ओलीले दोहोर्‍याएर प्रस्ताव राखेपनि नेताहरु शान्त भएनन्। अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, झलनाथ खनाल लगायत नेताले ‘हामी पनि बोल्छौं’ भन्दै हात उठाए। त्यसपछि भने अध्यक्ष दाहालले बैठकमा हस्तक्षेप गरेका थिए। अध्यक्ष प्रचण्डले -आज रातपनि परिसक्यो भोलि छलफल गरौ-भन्ने प्रस्ताव गरेका थिए ।नेताहरुले उठाएका विषयमा पुन छलफल गर्ने उनले बताए। शुक्रबारको बैठकमा असन्तुष्ट नेताहरुलाई सुरुमा बोल्न दिने र फेरि शीर्ष नेताहरुले धारणा राख्ने सम्भावना रहेको नेताहरुले बताए। अध्यक्षद्वयले केही विषय प्रस्ट्याएपछि मात्रै निर्णय प्रक्रियामा जाने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। बैठक आज विहान बस्दैछ ।

Comments