दुई अध्यक्ष केपी र प्रचण्डले कार्यदलका ९ नेतालाई आकस्मिक बालुवाटार बोलाए

काठमाडौं । नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता जिम्मेवारी दिइएका ९ नेतालाई आकस्मिक बालुवाटार बोलाएका छन् । पार्टी एकताको कार्यभार पुरा गर्न स्थायी कमिटी बैठकले ९ सदस्यीय कार्यदल बनाएको थियो ।

दुई अध्यक्षले आकस्मिकरुपमा दुई कार्यदलका सदस्यलाई बालुवाटार बोलाएका छन् । पार्टी एकताको कामलाई पूर्णता अन्तिमरुप दिनुभन्दा पहिले केही निर्देशन दिन नेताहरुलाई बालुवाटार बोलाइएको स्रोतले जनाएको छ । दुई अध्यक्षले बोलाएपछि कार्यदलमा रहेका ९ नेता आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा पुग्ने भएका छन् ।

कार्यदलमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा बादल, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् । जिल्ला, गाउँ, नगर र जनवर्गिय संगठनको एकतालाई अन्तिमरुप दिन कार्यदल बनाइएको थियो । संगठनात्मक एकतासम्बन्धी समग्र प्रस्ताव तयार गर्ने जिम्मा कार्यदललाई स्थायी कमिटीले दिएको थियो ।
कार्यदललाई पोलिटव्यूरो गठनदेखि केन्द्रीय सदस्यहरुको कार्य विभाजनलगायतका कामहरुको पनि प्रस्ताव तयार गर्ने जिम्मा छ । बिधानसँग बाझिने कुराहरु पनि उनीहरुले संशोधनका लागि प्रस्ताव तयार पार्ने भएका छन् ।

Comments