सिरी एः युभेन्ट्सको अपराजित यात्रा कायमै, आजको खेलमा रोनाल्डो नायक बने

काठमाण्डौ । इटालियन सिरी ए मा युभेन्ट्सले आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ । शनिबार भएको खेलमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गर्दा युभेन्टसले जित हात पार्न सफल भएको हो ।

खेलको दोस्रो मिनेटमा नै पाउलो डिबालाले दिएको बललाई जाली चुमाउँदै रोनाल्डोले युभेन्ट्सलाई अग्रता दिलाएका हुन् । ३३ औं मिनेटमा साम्प्डोरियाले पेनाल्टी पाएको थियो । उक्क्त पेनाल्टीलाई फाविया काग्लियारेल्लाले गोलमा परिणत गर्दै पहिलो हाफअघि खेल १–१ गोलको बराबरीमा पुर्‍याएका थिए । एलिनाज एरेनामा भएको खेलमा रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सले साम्प्डोरियालाई २–१ ले हराउन सफल भएको हो ।

दोस्रो गोल खेलको ६५औं मिनेटमा युभेन्ट्सले पेनाल्टी मार्फत गरेकाे थियाे । पेनाल्टीमा रोनाल्डोले गोल गरेर आफ्नो टिमलाई २–१ को अग्रता दिलाउन सफल भएका थिए । त्यसपछिकाे बाँकी समय दुवै टिमले गोल गर्ने प्रयास गरेका थिए तर गोल हुन नसक्दा युभेन्ट्स विजयी भएको हो । इटालियन सिरी ए मा युभेन्ट्स अहिले सम्म अपराजित टिम रहेको छ । १९ खेलमा उसले ५३ अंक बनाएको छ । साम्प्डोरिया भने २९ अंक सहित पाँचौं स्थानमा छ । नापोली र इन्टर मिलान क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

Comments