खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेक्का रद्द

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तोकिएको शर्त र समय अनुसार काम नगरेको भन्दै तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तरर्गतको पहिलो खण्डको ठेक्का रद्द गरेको छ ।

उक्त प्रसारण लाइनको काम चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा सेञ्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त रुपमा गर्दै आएका थिए ।

ठेक्का सम्झौता अनुसारको काम नगरेपछि प्राधिकरणले चिनियाँ कम्पनीको ठैक्का रद्द गरेको हो । प्राधिकरणका अनुसार तामाकोशी– काठमाडौँ प्रसारण लाइन अन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का केही दिन अघि तोडिएको हो ।

प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत् अर्थात रु १४ करोड ५४ लाख ९१४ लाख ५४ हजार डलर० र रु छ करोड १६ लाख ७४ हजार कार्यसम्पादन जमानत समेत जफथ गरेको छ ।

आयोजना प्रमुख नवराज ओझाले तोकिएको शर्तअनुसार काम नभए पनि ठेकेदारसँगको स्म्झौता रद्द गरिएको जानकारी दिए ।

प्राधिकरणले ठेकेदार कम्पनीसँग २०७३ असोज ११ मा ठेक्का सम्झौता गरी २०७६ जेठ १२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सम्झौताअनुसार एक करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र रु ६१ करोड ६७ लाख ३६ हजारमा चिनीया कम्पनिले निर्माणको जिम्मा लिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्वको प्रसारण लाइनको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिँदै आएका थिए । तर, कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।

ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिदा करीब आठ प्रतिशत मात्रै भौतिक प्रगति गरेको, काम गर्न पटक÷पटक दिइएको निर्देशन अटेर गरेकाले रणनीतिक महत्वको प्रसारण लाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का रद्द गरिएको आयोजना प्रमुख ओझाले जानकारी दिए ।

काम गर्न पटक/पटक गरिएको ताकेता तथा चेतावनी दिँदा ठेक्का सम्झौतामा उल्लेख गरिएको समय तालिका परिवर्तन गर्न मै कम्पनी लागिरह्यो, काम नगर्ने तर विभिन्न बहाना बनाएर ठेक्का ओगटी राख्ने मात्रै कम्पनीको नियत देखिएको उहाँको भनाइ छ ।

कम्पनीले सम्झौतामा समय तालीकासहित उल्लेख भएका टावरको डिजाइन, ड्रोइङ, जग हाल्ने तथा जडान गर्ने, कन्टक्टर, इन्सुलेटर जस्ता उपकरणको उत्पादन, आपूर्ति तथा जडान गर्ने लगायतका काम नगरेको प्राधिकरणको भनाइ छ । ठेक्का तोडी नयाँ ठेकेदार छनोटका लागि बोलपत्र आह्वान भइसकेको आयोजना प्रमुख ओझाले बताए ।

उनका अनुसार, आगामी चैतभित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको ८२० दिनभित्रमा प्रसारण लाइन निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको उनको भनाइ छ ।

कम्पनीले सिन्धुपाल्चोको बाह्रबिसेमा २२०/१३२ केभी सवस्टेसन बनाउने ठेक्का पाएको छ । सवस्टेसनको काम पनि सन्तोषजनक नभएको आयोजनाले जनाएको छ । ताकेता गर्दासमेत सम्झौताको तालिकाअनुसार अहिलेसम्म मुख्य काम नै नगरेको आयोजना प्रमुख ओझाले बताए ।

प्राधिकरण र कम्पनीबीच सवस्टेसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र रु ३१ करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२० मा सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

खिम्ती र तामाकोशी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौ उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

रामेछापको खिम्तीमा बन्न लागेको सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाई ४४ किलोमिटर रहेको छ ।

यस्तै बाह्रबिसे–काठमाडौँ खण्डको प्रसारण लाइनको ठेक्का भने भारतीय कम्पनी लार्सन एण्ड टर्वोले पाएको छ ।

Comments