ऊर्जामन्त्री पुनलाई प्रश्न–‘मन्त्रीज्यू हामीले बिजुली बाल्न नपाउने नै हो र ?’

काठमाडौँ । ‘मन्त्रीज्यू हामीलाई सार्वजनिक जग्गामा बसेको भनेर बिजुलीको मिटर दिइएन । सार्वजनिक जग्गामा बस्नेले मिटर पाउँदैनन् भनेर गाउँपालिकाले पनि हाम्रो कुरा सुनेन । हामीसँग लालपुर्जा छैन । के हामीले बिजुली बाल्न नपाउने हो र ?’यो भनाइ हो महोत्तरी पिपरा अल्लीपट्टीका काशिम राइनको ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक साताको शुक्रबार पैसा नलाग्ने नम्बर ११५१ मा नागरिकका गुनासा सुन्नुहुन्छ र समस्याको समाधान गर्न पहल गर्नुहुन्छ भन्ने सुनेका कारण आफूले फोन गरेको बताउँदै राइनले आफ्नो समस्याको पोको फुकाए । उनले भने, ‘मन्त्रीज्यू हामीले बिजुली बाल्न नपाउने नै हो र ?’

राइनले त्यतिमात्रै भनेन् गाउँपालिकाका पदाधिकारीले स्थानीय तहको निर्वाचनमा भोट नदिएको भनेर जानाजान छुटाएको समेत गुनासो गरे । अन्यत्र बसोबास गर्ने स्थान र आफ्नो नाममा जग्गा नभएका कारण सार्वजनिक जग्गामा बस्दै आएको राइनको भनाइ थियो । उनले भने, “पुर्खादेखि बस्दै आएको जग्गा छाडेर कहाँ जाऊ कहीँ कतै पनि हाम्रो आफ्नो भन्ने जग्गा छैन । के हामीले बिजुली बाल्नै नपाउने हो त ?” राइनले मन्त्री पुनलाई आफ्नो कुरा मात्रै सुनाएनन् समस्या समाधानका लागि पहल गरिदिन आग्रह समेत गरे ।

पछिल्लो पटक सरकारले लालपुर्जा नभएकालाई समेत विद्युत्को मिटर उपलब्ध गराउने व्यवस्था गरेको छ । जग्गाधनी प्रमाणपत्र नै नभएकालाई समेत मिटर उपलब्ध गराउने निर्णय तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गरेका थिए । सोही निर्णयका आधारमा प्राधिकरणले भूमिहीन र सुकुम्बासीलाई समेत मिटर उपलब्ध गराउँदै आएको भए पनि केही जिल्लामा लालपुर्जा नभएकालाई मिटर दिइँदैन ।

महोत्तरीका राइनको गुनासो सुनेपछि मन्त्री पुनले भने, “तपाईले मिटर पाउनुहुन्छ । त्यसको आवश्यक व्यवस्थाका लागि महोत्तरी वितरण केन्द्रलाई आवश्यक निर्देशन दिन्छौँ । वितरण केन्द्रमा सम्पर्क राख्नुहोला र मिटर पाए नपाएको खबर गर्नुहोला ।”

मन्त्री पुनको उत्तर सुनेपछि राइनले खुशी हुँदै भने, “मन्त्रीज्यू यहाँलाई धेरैधेरै धन्यवाद छ । हरेक शुक्रबार मन्त्री पुनले पैसा नलाग्ने फोन नम्बर ११५१ मा नागरिकका गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्ने गर्दै आएका छन् । सोही क्रममा मन्त्री पुनले शुक्रबार देशका विभिन्न स्थानका १२ जनासँग संवाद गरेका थिए ।

सप्तरी कृष्णसार गाउँपालिकाका सञ्जीवकुमार चौधरीले पनि मन्त्री पुनलाई आफ्नो गुनासो सुनाए । उनले प्रसारण लाइनको टावर निर्माण भइरहेका कारण ४० वर्ष पुराना आँपका रुख काट्नुपर्ने अवस्था आएकाले त्यसको क्षतिपूर्ति पाइन्छ कि पाइँदैन भन्ने जिज्ञासा राखेका थिए । यस्तै चौधरीले बाङ्गोटिङ्गो हुने गरी गाडिएका वितरण लाइनका पोल सिधा पार्न पटकपटक प्राधिकरणको स्थानीय कार्यालयलाई भने पनि त्यसको सुनुवाइ नभएकोमा मन्त्री पुनसमक्ष गुनासो गरे ।

बूढानीलकण्ठका सञ्जीव कुइँकेलले बूढानीलकण्ठ–१३ को नयाँ बस्ती नजिक वितरण लाइनका लागि पोल गाड्नका लागि निवेदन दिएको तर तोकिएको स्थानमा पोल नगाडी अन्यत्रै गाडेको भन्दै समस्या समाधान गरिदिन आग्रह गरे ।

यस्तै धादिङ धुनीबेँसीका समरबहादुर सार्कीले भने मस्र्याङ्दी काठमाडौँ प्रसारण लाइनको एउटा टावर सार्न प्राधिकरणलाई पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गर्दै समस्या समाधान गरिदिन आग्रह गरे ।

Comments