निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ सरकार अग्रसर : मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले देशलाई आर्थिक समृद्धितर्फ लैजान सरकार निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ अघि बढेको बताएका छन् ।

शुक्रवारदेखि राजधानीमा शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले वर्तमान सरकारको मुख्य उद्देश्य नै देशलाई आर्थिकरुपमा मजबुत बनाउनेतर्फ रहेको स्पष्ट पारे । मन्त्री यादवले देशमा गणतन्त्र आएसँगै निजी क्षेत्रलाई लगानी गर्ने वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

मेलाका संयोजक नवराज गौतमले अहिले वार्षिक तीन करोड जोर जुत्ता उत्पादन भइरहेकामा २०२० सम्ममा पाँच करोड उत्पादन गर्ने लक्ष्य रहेको जानकारी गराए । चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपाली प्रयोगकर्ताको सोच विचारमा परिवर्तन नआएकाले पनि स्वदेशमा उत्पादन भएका सामग्री प्रयोगमा कमी आएको धारणा राखे ।

‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’ को आयोजनामा यही पुस १९ गतेसम्म भृकुटीमण्डपमा सञ्चालनमा रहने मेलामा १४० कक्ष रहका छन् । मेलामा विशेषगरी छालाका जुत्ता, चप्पल, स्पोर्टस् जुत्ता, स्कूल र कलेजका जुत्ता तथा विभिन्न खानाका परिकारका कक्ष राखिएका छन् ।

मेलाको मुख्य उद्देश्य अर्थ सङ्कलन गर्नुभन्दा पनि स्वदेशमा उत्पादन भएका छालाजन्य वस्तुका बारेमा नागरिकलाई जानकारी गराउनु रहेको आयोजक संस्थाका अध्यक्ष कृष्णकुमार फुयाँलले जानकारी गराए । ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ नाराका साथ सो मेलामा करीब दुई लाख व्यक्तिले अवलोकन गर्ने बताइएको छ । मेलामा राखिएका जुनसुकै सामग्री खरीद गर्दा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

Comments