सिटी र चेल्सीको लक्ष्य उपाधि होडमा दाबेदारी कायम राख्ने, आज चार खेल हुँदै

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा आज चार खेलहरु हुँदैछन् । आज साविकको विजेता म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड जस्ता क्लबहरुले आ–आफ्नो खेलहरुमा प्रतिस्पर्धा गर्दैछन् ।

आज हुने पहिलो खेलमा चेल्सीले क्रिष्टल प्यालेससंग प्रतिस्पर्धा गर्दैछ । क्रिष्टलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुका ५ः४५ मा सुरु हुनेछ । क्रिष्टल विरुद्ध मैदान उत्रदा चेल्सी जित निकाल्दै शीर्ष स्थानमा रहेका तीन क्लबविरुद्ध अंक दुरी कम गर्ने लक्ष्यमा छ । तालिकामा ४० अंक सहित चेल्सी चौंथो स्थानमा छ । उता पेप ग्वार्डिवालाको म्यानचेस्टर सिटीले साउथह्याम्पटनसंग प्रतिस्पर्धा गर्दैछ । साउथह्याम्पटनको मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुका ८ बजे सुरु हुनेछ ।

अघिल्ला दुई खेलमा खराब नतिजा बेहोरेको सिटी साउथह्याम्पटनलाई हराएर उपाधि होड कायम राख्न चाहन्छ । यस्तै आजको खेल जिते लिगको तेस्रो स्थानमा रहेको सिटीलाई दोस्रो स्थानमा उक्लने मौका पनि उत्तिकै छ । सिटीको १९ खेलबाट ४४ अंक छ । र, सिटी शीर्ष स्थानको लिभरपुल भन्दा १० अंकले पछि छ । दोस्रो स्थानको टोटेनह्यामभन्दा १ अंकले पछि छ । बेलुका ८ बजे नै हुने अर्को खेलमा बर्नली र वेष्ट ह्याम युनाइटेडले प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै प्रिमियर लिग अन्तर्गत आइतबार म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा बर्नेमाउथसंग खेल्दैछ । खेल नेपाली समय अनुसार १०ः१५ मा सुरु हुनेछ । पछिल्ला दुई खेलमा जित निकालेको युनाइटेड बर्नेमाउथलाई हराएर शीर्ष टोलीविरुद्ध अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ । युनाइटेड ३२ अंक सहित लिगको छैटौं स्थानमा कायम रहेकाे छ । गुनर साेल्सायरले  टिम सम्हालेपछि म्यान्युले नितजा आफ्नाे पक्षमा पारेकाे छ ।

Comments