विकासकाे काममा सत्ता र प्रतिपक्ष हुनुहुँदैन : मन्त्री ज्ञवाली

काठमाण्डाै । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले लामो समयपछि राजनीतिक अस्थिरता र संक्रमणकाललाई अन्त्य गरी राजनीतिक स्थायित्व प्राप्त गरेको बताउँदै देशको विकास र समृद्धिका लागि पक्ष र प्रतिपक्ष हुन नहुने धारणा राखेका छन् ।

उनले संसदभित्र बस्दा सत्तापक्ष र प्रतिपक्ष भए पनि देश बनाउने र देशको गरिबी, भष्ट्राचार र अन्धकारकाविरुद्ध लड्ने क्रममा अब कोही पनि सत्तापक्ष र प्रतिपक्ष नभएको दावी गरेका छन् । राष्ट्र निर्माणमा सबैको योगदान उत्तिकै महत्वपूर्ण रहेको भन्दै त्यसका लागि सबै एक ढिक्का भएर अघि बढ्नु पर्ने मन्त्री ज्ञवालीको तर्क थियो ।

शनिबार गुल्मीको सदरमुकाम तम्घासमा रेसुंगा बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सव तथा ३४ औं क्याम्पससभामा बोल्दै मन्त्री ज्ञवालीले यस्ताे धारणा राखेका हुन् । अबको तीन वर्षभित्रमा नेपाललाई अति अल्पविकशितबाट विकासशील देशको रुपमा स्थापित गर्ने सरकारले संकल्प गरेको भन्दै मन्त्री ज्ञवालीले सन् २०३० भित्रमा नेपाललाई मध्यम आय भएको देशमा लैजाने समेत दाबी गरे।

वर्तमान सरकार बनिरहँदा वाह्य सम्बन्धहरुमा ठूला–ठूला दरार उत्पन्न भएको र त्यसैका कारण नेपालको राष्ट्रियता अत्यन्तै कमजोर भएको भन्दै परराष्ट्र मन्त्री ज्ञवालीले छिमेकी सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई वर्तमान सरकारले नयाँ उचाईमा उठाएको दाबी गरेका छन् ।

Comments