काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेको छ । गएराति भएको खेलमा युनाइटेडले बर्नेमाउथलाई ४ – १ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितका लागि पाउल पोग्बाले दुई गोल, मार्कुस राष्फोर्ड र रोमेलो लुकाकुले एक गोलको योगदान गरेका थिए । बर्नेमाउथका नाथन एकेले सान्त्वना गोल फर्काएका थिए । म्यान्यूले बर्नेमाउथविरुद्ध खेलको पाँचौ मिनेटमा पोग्बाको गोलबाट अग्रता बनाएको थियो । खेलको ३३ औं मिनेटमा पोग्बाले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडको अग्रता २ – ० कायम भयो ।

प्रशिक्षकमा ओले गुनर सोल्सायर आएपछि युनाइटेडको यो लगातार तेस्रो जित हो । खराब प्रदर्शन जारी रहेपछि मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गर्दै युनाइटेडले सोल्सायरलाई प्रशिक्षणको जिम्मा दिएको थियो । यो जितसंगै युनाइटेडले २० खेलबाट ३५ अंक जोडेको छ । युनाइटेड लिगको छैटौं स्थानमा छ । बर्नेमाउथ २६ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।


Comments
Post a Comment