८७ घर जलेर खरानी भएको न्यौपाने गाउँ अब नमुना बस्ती

काठमाडौं । कतिपय दखद घटनापछि पनि खुसीयालीको संकेत देखा पर्दछ । ८७ घर जलेर खुल्ला आकाशमा आएका कालिकोटको पलाँताका अग्निपीडितका लागि एउटा यस्तै खुसीको संकेत देखा परेको छ । यो खुसीको संकेत ल्याएको हो कर्णाली प्रदेश सरकारले । कर्णाली प्रदेश सरकारले आगो लागेको न्यौपाने बस्तीलाई एकीकृत बस्ती निर्माण गर्ने भएको छ ।

प्रदेश सरकारले अग्निपीडित परिवारका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने भएको छ । जलेकै बस्तीलाई नमुना बस्ती बनाउने घोषणा कर्णाली प्रदेश सरकारले गरेको छ । नमुना बस्ती निर्माणका लागि प्रदेश सरकारले ४ करोड ३५ लाख रुपियाँ छुट्याएको मन्त्री विमला केसीले बताइन ।
‘अग्निपीडितहरूको आवास निर्माणका लागि प्रतिपरिवार पाँच लाखका दरले चार करोड ३५ लाख रुपैयाँ छुट्याएका छौं,’ सरकारका प्रवक्ता समेत रहेकी मन्त्री केसीले भनिन्, ‘आगोले खरानी भएको बस्तीमै नमुना बस्ती निर्माण गछौं।’
नमुना बस्ती निर्माणका लागि एकीकृत परियोजना बनाउन प्रदेश सरकारले प्राविधिक टोलीलाई जिम्मा लगाउने निर्णय गरेको छ । नक्सा र प्राविधिक कामको थालनी गर्न निर्देशन दिइ सकिएको मन्त्री केसीले बताइन ।
पुस ८ गते भएको आगलागीमा पलाता गाउँपालिका–१ को न्यौपानेखाडाका ८७ घर जलेका थिए।

Comments