बंगलादेशमा आईतवार निर्वाचन, छ लाख सुरक्षाकर्मी परिचालित

बंगलादेश । बंगलादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ।

अधिकारीहरूले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरू गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन्। मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक घटनाहरू पनि बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको अधिकारीहरूको भनाइ छ।

प्रधानमन्त्री शेख हसिना नै फेरी निर्वाचित हुने अपेक्षा गरिएको आम निर्वाचनका लागि देशभर झण्डै ४० हजार मतदान केन्द्रहरू तय गरिएको छ। सुरक्षाकर्मीहरूलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्रदेखि गाँउ गाउँसम्म खटाइएको छ।

‘देशको क्षमता अनुसार हामी सकेसम्मको उच्च सुरक्षा व्यवस्था गरेका छौँ, सुरक्षामा कुनै कमजोरी तथा अभाव हुनेछैन भन्ने हामीले विश्वास लिएका छौँ,’ निर्वाचन आयोगका एक अधिकारी राफिक्वाल इस्लामले भने। उनले थपे, ‘निर्वाचनका लागि शान्तिपूर्ण वातावरण हुनेछ भन्ने हामीलाई आशा छ।’ यस पटकको निर्वाचनको सिलसिलामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने अरू हजारौँ घाइते भएका छन्।

मुसलिम समुदायको बाहुल्यता रहेको यस देशमा हुन लागेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बंगलादेश नेसनल पार्टी (बिएनपी) बीच प्रतिस्पर्धा हुने देखिएको छ। प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आएकी छन् भने विपक्षीहरूले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका गरिरहेका छन्।

प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आएकी छन् भने विपक्षीहरूले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका गरिरहेका छन्। प्रधानमन्त्री हसिनाले विपक्षीहरूले आफूविरुद्ध बम आक्रमण गराएको आरोप लगाएकी छन् भने उनलाई विपक्षी दलले राज्य आतंक मच्चाएको दाबी गरेको छ।

विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेल छन्। ७३ वर्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुन् भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुन्। यी दुबै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिक रूपमा सक्रिय छन्। यो चुनावमा विजयी भए शेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउने छन्।

यसअघि दुवै महिला नेतृले जनआन्दोनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनर्स्थापना गरेका थिए। तर सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो । त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन्, र प्रतिशोधको राजनीति चरमविन्दुमा पुगेको छ।

विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलमा छन्। बंगलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाएकी छैनन्।  उनको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले उक्त आरोप ‘राजनीतिक प्रेरित’ रहेको भन्दै आलोचना गरिरहेको छ। निर्वाचनको पूर्वसन्ध्यामा पार्टीसम्बद्ध हजारौँ कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ।

चर्को विवाद, तनाब र हिंसाका बीच बंगलादेशमा गत बिहीबार रातिदेखि अहिले मौन अवधि चलिरहेको छ।

Comments