काठमाडौं । एक जना निजामति कर्मचारी एउटै कार्यालयको एउटै पदमा कति समय बहाल रहन सक्छ ? दुई वा चार बर्ष । तर यो अनुमानलाई वन मन्त्रालयका एक नासुले गलत सावित गरिदिएका छन् ।
वन तथा वातावरण मन्त्रालयमामा नासु विश्व काफ्ले विगत १२ बर्षदेखि एउटै ठाउँमा कार्यरत छन् । १२ बर्षदेखि मन्त्रालयको स्टोर शाखामा कार्यरत काफ्लेलाई जति पटक सरुवा गरेपनि रमाना लिनुपर्ने झन्झट आइलागेन । वन मन्त्रालयले उनलाई २ पटक सरुवा गरिसकेको छ तर सचिवलाई प्रभावमा राखी उनी स्टोर शाखामा बहाल भइरहेका छन् । सरुवाको पत्र मन्त्रालयले तयार पार्छ तर पत्र रद्दी कोकरीमा थन्किने गरेको छ ।
२०६३ सालमा वन मन्त्रालयको स्टोर शाखामा प्रवेश गरेका काफ्लेको २०७४ भदौमा सरुवा गरिएको थियो । उनी सरुवा भएको स्थानीय विकास मन्त्रालयमा जाने कष्ट गरेनन् । सचिवले पनि पठाउने इच्छा राखेनन् । गत साउनमा फेरी उनको राष्ट्रपति कार्यालय सितल निवासमा सरुवा भयो । सिंहदरवार छोडेर उनी सितल निवास पुग्ने कष्ट गरेनन् । वन सचिव विश्वनाथ ओलीको निकटताले स्टोर शाखामै बहाल राखेको छ । मन्त्रालयको निर्णयलाई उनले धोति लगाइ दिएका छन् ।
राष्ट्रपति कार्यालय जान इन्कार गरिरहेका नासु काफ्लेको यति ठुलो दम्भ कहाँबाट आयो ? वनमन्त्रालय कर्मचारी नै तिनछक परेका छन् । मन्त्री शक्तिबहादुर बस्नेत पनि एउटै ब्यक्ति एउटै पदमा यति लामो समय बस्न नहुँने पक्षमा छन् । तर वनसचिव विश्वनाथका लगाडी उनको चाहनाले काम गरेको छैन । किनकी सचिवको सम्बन्ध प्रत्यक्ष बालुवाटारसँग छ । ओलीबंशका महासचिव विश्वनाथ प्रधानमन्त्री केपी ओलीका विश्वासिला कर्मचारी हुन् ।
नासु काफ्लेले भने आफुलाई मन्त्रालयले रमाना नदिएका कारण राष्ट्रपति कार्यालय नगएको बताउँछन् । उनलाई रवाना दिन वन सचिव ओली किन तयार छैनन ? मन्त्रालयका एक कर्मचारी भन्छन् ‘स्टोरको कमिशनले काम गरेको होला नी ।’
निजामती सेवा ऐनको प्रावधान अनुसार सामान्यतया २ वर्षमा कर्मचारीको सरुवा हुने प्रावधान छ । तर नासु काफ्लेका हकमा निजामति कर्मचारी ऐन पनि असफल भएको छ । नासु काफ्ले आफु सरुवा भएको ठाउँमा जान खोजेको भन्न भने चुक्दैनन् । ‘मैले रमाना मागि रहेको छु तर मैले पाएको छैन’ काफ्लेले भने, ‘रमाना पाए लगतै राष्ट्रपति कार्यालय जान्छु ।’

Comments
Post a Comment