काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजुलीको तार हटाइदिने बहानामा सेवाग्राहीसँग रु १५ हजार घूस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तीन कर्मचारीलाई पक्राउ गरेको छ ।
आयोगका अनुसार प्राधिकरण नोलाइट शाखा काठमाडौँ, मूलपानीका सहयोगीद्वय हस्तबहादुर थापामगर, काले थापामगर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनीले जग्गाबाट बिजुलीको तार हटाइदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहानामा घूस माग्दामाग्दै पक्राउ गरिएको हो ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार प्राधिकरणका तीन कर्मचारीलाई बिहीबार पक्राउ गरी शुक्रवार सार्वजनिक गरिएको हो ।
यस्तै आयोगले रूपन्देही सिद्धार्थनगर नगरपालिका–३ को अन्जनी बानियाँको नाममा रहेको जग्गा हाल साबिक गर्दा सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा घुसाई अनियमितता गरेको आरोपमा नापी कार्यालय भैरहवाका नापी अधिकृत घनश्याम दुवे र नापी सर्वेक्षक शौकात अली खाँ लगायतले भ्रष्टाचार गरेको अभियोगमा शुक्रवार मुद्दा दायर गरेको छ ।
आयोगले मालपोत कार्यालय भैरहवाका नासु बलराम श्रेष्ठ र वडा सचिव धनेशचन्द्र गुरुङ समेतको मिलेमतो देखिएको आयोगको अनुसन्धानबाट खुलेको जनाएको छ ।
यस्तै बर्दिया, राजापुर नगरपालिका–१० का वडा सदस्य उत्तम चौधरीले रु दुई लाख ५० हजार घूस लिएको अभियोगमा आयोगले पक्राउ गरेको छ ।
क्रसर उद्योगको दर्ता गर्न सिफारिश तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग घुस माग्दा माग्दै आयोगको नेपालगञ्ज क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
Comments
Post a Comment