नेकपामा बैठक बस्नै सकस,केन्द्रीय सदस्यको कार्यविभाजन अलमलमा !

काठमाण्डौ । सत्तारूढ नेकपाका केन्द्रीय सदस्यहरु केन्द्रीय कमिटि बैठक आह्वान गर्नु पर्छ भन्ने दवाव मुलक संन्देश नेतृत्वलाई दिई हरेका छन् । पार्टीका बैठकहरु नियमित बोलाउन स्थायी समितिका नेताहरूले दबाब बढाए पनि अझै बैठक बस्न सकेको छैन। केन्द्रीय सदस्यको कार्यविभाजनको एजेन्डामा अड्किएको सचिवालय बैठक पनि बस्न सकेको छैन । दुई दिनयता लगातार रुपमा पार्टी अध्यक्षले गृहकार्य गर्न नभ्याएको भन्दै सचिवालय बैठक स्थगित भएका छन् ।

गत मंसिर ८ गते बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजनको गृहकार्य गर्न दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक दिनको समय दिएका थियो । मंसिर ९ मा दुई अध्यक्षले मापदण्ड निर्धारण गरी केन्द्रीय सदस्यको कार्यविभाजनको गृहकार्य गर्ने र मंसिर १० को सचिवालयले कार्यविभाजन प्रस्ताव टुंगो लगाई जनवर्गीय संगठनको एकीकरण प्रस्तावमा छलफल गर्ने कार्यसूची निर्धारण भएको थियो। तर अझै त्यसपछि सचिवालय बैठक बस्न सकेको छैन। सोमबार र मंगलबार दुवै दिन बैठक बोलाउँदै अन्तिम समयमा स्थगन गरिएको थियो। बुधबार दिउँसो पुनः बैठक बस्ने सचिवालय सदस्यलाई जानकारी गराइएको छ ।

जेठ ३ मा तत्कालीन एमाले–माओवादीबीच पार्टी एकता भए पनि पार्टीका प्रदेशदेखि तल्लो तह र जनवर्गीय संगठनहरूको एकता प्रक्रिया टुंगिएको छैन। तल्ला कमिटी र जनवर्गीय संगठनमा अझै नेकपाका पूर्व दुवै घटकका आआफ्नै पार्टी संरचना छन्। प्रदेश कमिटी एकताको प्रस्ताव सचिवालयले टुंगो लगाए पनि स्थायी समिति बैठकबाट अन्तिम निर्णय भई कार्यान्वयनमा जान बाँकी छ। केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, केन्द्रीय विभाग र सल्लाहकार समिति गठन, जनवर्गीय संगठनहरूको एकता, सरकारको समीक्षालगायत विषय सचिवालय बैठकका एजेन्डा छन्।

पार्टी बैठक नबस्ने, सरकार–पार्टीबीच सम्बन्ध टुट्ने र सरकारदेखि पार्टीसम्म पनि नेतृत्वले स्वेच्छाचारी ढंगले निर्णय लिन थालेको भन्दै नेकपाभित्र असन्तुष्टि चुलिँदो छ। मंसिर ५ मा मात्रै वरिष्ठ नेता माधव नेपाल पक्षका २१ केन्द्रीय सदस्यले पार्टीको सुझाव लिएर सरकारले निर्णय लिन र विधि पद्धति बनाएर पार्टी निर्णय गर्न माग गर्दै महासचिवमार्फत अध्यक्षद्वयलाई ६ बुँदे ज्ञापान बुझाएका थिए। भने मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटी पार्टी विधि र पद्धति अनुसार चलाउन ध्यानाकर्षण गराएका छन् ।

The post नेकपामा बैठक बस्नै सकस,केन्द्रीय सदस्यको कार्यविभाजन अलमलमा ! appeared first on YesKathmandu.com.

Comments