झापा आगलागी घटनामा कांग्रेस प्रवक्ताको नयाँ ‘ट्वीस्ट’–घटना भवितव्यमा होइन नियोजित हो

काठमाडौं । एक परिवारका चार जनाको ज्यान जानेगरी झापामा भएको आगलागीको घटना भवितव्यमा नभई नियोजित भएको दावी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् । झापाको शिवसताक्षीमा एकै परिवारका चार जनाको आगलागीमा मृत्यु भएको थियो । बंसविनास हुनेगरी भएको यो घटना नियोजित भएको शर्माले बताएका छन् ।

‘घटना कुनै हालतमा भवितव्यमा हुनै सक्दैन, नियोजित हो’ प्रवक्ता शर्माले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न म नेपाल सरकारसँग माग गर्दछु।’ घटनाको प्रकृति हेर्दा नियोजित ढंगले घरमा आगो लगाएर २ जना अवोध बालबालिकासहित खनाल परिवारको हत्या गरिएको उनले दावी गरे ।

आईतबार राति घरमा आगलागी भएपछि लालझोडाका ३४ वर्षीय लक्ष्मण खनाल, २८ वर्षीया श्रीमती राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा खनाल र पाँच महिनाका छोरा टिकाराम खनालको मृत्यु भएको थियो । बिधुत सर्ट भएर आगलागी भएको प्रहरीले अनुमान गरेपनि प्रवक्ता शर्माले भने नियोजितरुपमा घरमा आगो लगाएर हत्या गरिएको दावी गरेका छन् । पिडित परिवार र गाउँलेले घटना शंकास्पद भएको बताइरहेका छन् ।

‘यो मुलुकमा यदि सरकार र प्रशासन भएको अनुभव आम नेपालीले गर्छन् भने लक्ष्मण खनालको परिवारको हत्यारा पत्ता लगाओस्, मृतकका बुवाआमा र आफन्तलाई न्यायको अनुभूति दिलाओस्,’ उनले भने। वंश विनास हुने गरी घरमा आगो लगाएर ४ जनाको जिउँदै हत्या गरिनुभन्दा निन्दनीय र अमानवीय घटना अरू कुनै हुन नसक्ने शर्माको भनाइ छ।

नेता शर्माले घटनामा शंका गर्ने आधारहरू प्रशस्त रहेको बताए। ‘आगलागी भएको घर नजिकैको बाँस झ्याङ्गमा आगोको लप्का नपुग्नु, नजिकैको छिमेकीको घरमा धुवाँको टाटा नहुनु, आगलागी हुँदा छिमेकमा बिजुली आपूर्ती ठप्प नहुनु, घरमा एकै पटक चारैतिरबाट आगो लाग्नु जस्ता बिषयमा उनले शंका गरेका छन् ।
‘बाँच्नलाई गुहार माग्दा पनि बाँच्न नपाउने गरि मेरो एउटा वंश सखाप बनाइयो,’ मृतक लक्ष्मणका वुवा रामकृष्ण खनालले भने, ‘के अपराध गर्‍यो मेरो छोराले सरकार ? मेरा छोरा–बुहारी र ती अवोध नाती नातीनाले के विराए ?

मृतक लक्ष्मणका वुवा रामकृष्णले भने, ‘यो दुर्घटना हुँदै होईन। एक साताअघि लालझोडाकै डम्बर निरौलाको बारीका सयौँ विरूवा काटिनु, घरमा पार्कीङ गरिएको अटो खोलामा ल्याएर फालिनु अनि आज मेरो एउटा वंशनै विनास हुने गरि घरमा आगो लगाएर मेरो परिवारको कायरतापूर्वक हत्या गर्नु, यो घटना कसरी विजुली सर्ट भएर हुनसक्छ ?’

The post झापा आगलागी घटनामा कांग्रेस प्रवक्ताको नयाँ ‘ट्वीस्ट’–घटना भवितव्यमा होइन नियोजित हो appeared first on YesKathmandu.com.

Comments