कर्णालीको विकासलाई आर्थिक अभाव हुन दिन्नः मुख्यमन्त्री शाही

काठमाण्डौ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विकासमा आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति कालीकोटको दोस्रो जिल्लासभाको उद्घाटन गर्दै शाहीले यो प्रदेशलाई गरीबीको उपमा दिए पनि यहाँको विकासका लागि आर्थिक स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

“कर्णालीको योजनाबद्ध विकासका लागि प्रदेश सरकारले योजना आयोग गठन गरिसकेको छ”, मुख्यमन्त्री शाहीले भने, “अब परिणाम देखिनेगरी काम गर्छौं ।” प्रदेश योजना आयोगले प्रदेशको बहुआयामिक विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना निर्माणको काम थालनी गरिसकेको बताउँदै उनले तीनवटै तहको सहकार्यमा मात्र कर्णालीको विकास अभियान अगाडि बढ्ने धारणा व्यक्त गरेका छन् ।मुख्यमन्त्री शाहीले भने, “विकास दाताले नभई जनताले गर्छन् बरु दाता निकायको सहयोगी भूमिका हुन्छ ।”

विकास र समृद्धिको अभियानमा जनतालाई गोलबन्द गर्दै लैजानुपर्नेमा जोड दिदैं कृषि, उद्योग, पर्यटन, जडीबुटीलगायत क्षेत्रमा उत्पादनमूलक योजना निर्माण गरेर काममा लाग्न आग्रह समेत गरे । मुख्यमन्त्री शाहीले स्रोतको सदुपयोग र दिगो विकासमा ध्यान नदिए वा जनतालाई उत्पादनमूलक काममा नजोडेसम्म समृद्धि प्राप्त नहुने बताउँदै “जननिर्वाचित तपाईं हामी सबै जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्दछ”, भन्ने धारणा राखेका थिए ।

नकारात्मक सोच र राजारजौटाको जस्तो शैलीले जनताको विश्वास आर्जन गर्न नसकिने उल्लेख गर्दै उनले जनप्रतिनिधिहरु जनताको सेवक बनेर काम गर्नुपर्नेमा जोड दिए । सभामा स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी अभावका कारण आफूहरुलाई काम गर्न गाह्रो भएको गुनासो गरेका छन् । कर्मचारी आपूर्तिमा सङ्घीय सरकारले उदासीनता देखाएको भन्दै उनीहरुले प्रदेश लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

The post कर्णालीको विकासलाई आर्थिक अभाव हुन दिन्नः मुख्यमन्त्री शाही appeared first on YesKathmandu.com.

Comments