जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि नेकपा नेता भट्टराइले भने ‘लज्जाबोध भयो’

 

काठमाडौं । संसदीय सुनवाई समितिले अयोग्य ठहर गरेका ब्यक्तिलाई पुन प्रधानन्यायाधीशमा सिफारिस गरेपछि नेकपा नेताहरुले आक्रोस पोखेका छन् । सर्वाेच्च अदालतका न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले प्रधानन्यायाधीशका लागि अयोग्य ठहर गरेको थियो । अयोग्य ठहर गरेका जोशीलाई न्याय परिषद्ले पुनः प्रधानन्यायाधीश पदमा सिफारिस गरेपछि नेकपा नेताहरुले आक्रोस पोखेका हुन् ।

‘न्यायपरिषदलाई संसदीय सुनुवाई समितिको निर्णय थाहा भएनकी ? थाहा पाउन चाहेन’ कटाक्ष गर्दै नेकपा स्थायी कमिटीका सदस्य योगेश भट्टराइले ट्वीट गरेका छन् ‘लज्जाबोध हुनुपर्ने भयो ।’ न्यायसम्पादनमा अयोग्य सावित भएका जोशीलाई प्रधानन्यायाधीश बनाउन नहुने पक्षमा भट्टराईले वकालत गर्दै आएका थिए । उनले नै नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रमाणसहित कन्भिन्स गरेका थिए ।

संसदीय सुनुवाई समितिले अयोग्य ठहर गरेका ब्यक्तिलाई पुनः प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सांसदहरु असन्तुष्ट बनेका छन् । तर न्यायपरिषदले सर्वोच्च अदालतका दुई वरिष्ठतम न्यायाधीशको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने प्रचलनका कारण उनको नाम सिफारिस गरिएको जनाएको छ ।

बरिष्ठताका आधारमा जोशी पहिलो र चोलेन्द्र शम्शेर दोस्रो नम्वरमा छन् । पहिलो र दोस्रो बरियताका न्यायाधीशलाई संवैधानिक परिषद्मा सिफारिस गरेको सचिव नृपध्वज निरौलाले बताए ।

The post जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि नेकपा नेता भट्टराइले भने ‘लज्जाबोध भयो’ appeared first on YesKathmandu.com.

Comments