विमान खरिदमा अनियमितता गर्नेलार्इ कडा कार्बाही हुन्छ : मन्त्री अधिकारी

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कार्बाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री अधिकारीले विमान खरिद प्रकरणको छानबिन गरिरहेका संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गम्भीरतापूर्वक छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाल एयेरलाइन्सलाई कम्जोर बनाउने नियतका साथ छानबिन गर्ने काम भने नगर्न पनि पटक–पटक सम्बन्धित निकायलाई सचेत गराए ।  मन्त्री अधिकारीले सो विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दोहोर्‍याउँदै गलत गर्नेमाथि कडा कार्बाही गर्न मन्त्रालय तयार रहेको पनि स्पष्ट पारे ।

उनले  छानबिन गर्ने निकायलाई सरकारले आवश्यक सहयोग गरिरहेको पनि बताए ।  मन्त्री अधिकारीले संसदीय समिति, अख्तियारलगायतका छानबिन गर्ने निकायको प्रतिवेदन नआएसम्म सो सम्बन्धमा धैर्यता गर्न पनि सबैलाई आग्रह गरे । उनले नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउन रणनीतिक साझेदारीको खोजी भइरहेको पनि जानकारी दिए ।

मन्त्री अधिकारीले आउँदो मार्चभित्र वाइडबडी विमानलाई ‘फूल फेज’मा संचालन गर्ने योजना रहेकाे पिन बताए ।  मन्त्री अधिकारीले सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन नयाँ-नयाँ गन्तव्यको खोजी कार्यलाई तीव्रता दिइएको पनि स्पष्ट पारे ।

उनले एक वर्षभित्र नेपालको कूल गार्हस्थ उत्पादनमा कम्तिमा १० प्रतिशत योगदान दिने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।  मन्त्री अधिकारीले नौं महिनाभित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने पनि बताए ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई पनि सुरु गर्ने तयारी गरिरहेको बताए ।

The post विमान खरिदमा अनियमितता गर्नेलार्इ कडा कार्बाही हुन्छ : मन्त्री अधिकारी appeared first on YesKathmandu.com.

Comments