पहिलो पटक नेपाल र म्यान्माबीच व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल र म्यान्माबीच पहिलो पटक शुक्रवार व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि उनिहरुको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्माका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका हुन् ।

दुई देशबीच खासगरी खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सम्झौताले बाटो खोलेको छ । दुई देशका उद्योग वाणिज्य महासङ्घबीच विगतदेखि सम्झौता भई व्यापार आदानप्रदान हुँदै आएको छ । ‘एशिया प्रशान्त शिखर सम्मेलन’मा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा काउन्सिलर सु की बिहीबार काठमाडौँ आएकी हुन् ।

प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईका अनुसार दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको जानकारी दिए । हाल नेपालमा म्यान्माबाट दाललगायत खाद्यान्न आपूर्ति भएकाले दालको भाउ स्थिर हुन योगदान पुगेको बताइएको छ ।

उनले लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गरिने र नेपालले सन् २०२० का लागि घोषणा गरेको नेपाल पर्यटन वर्षमा म्यान्माबाट पर्यटक वृद्धि गराउन म्यान्माले सहयोग गर्ने समझदारी भएको पनि बताए ।

डा.भट्टराईले नेपाल सिद्धार्थ गौतमको जन्मस्थल रहेको र म्यान्मा बौद्धमार्गी मुलुक भएकाले पनि दुई देशबीचको भावनात्मकका साथै व्यापारिक सम्बन्ध कायम रहेकाले आगामी दिनमा व्यापार र लगानी वृद्धि हुने बताए ।

म्यान्माले गौतम बुद्धजन्मस्थल लुम्बिनीमा चैत्य निर्माण पनि गरेको छ ।

The post पहिलो पटक नेपाल र म्यान्माबीच व्यापार सम्झौतामा हस्ताक्षर appeared first on YesKathmandu.com.

Comments