निर्मलाको आडमा प्रधानमन्त्रीलाई पोष्टर काउन्टरः ‘सरकार भेटियो, न्याय भेटिएन’

काठमाडौं । सामाजिक सुरक्षा योजनालाई लिएर सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर राजधानीका सडक पोलमा टाँसेको थियो । सरकारले भड्किलो प्रचार अभियान सञ्चालन गरेको आरोप लागिरहेका बेला एउटा समुहले भने प्रधानमन्त्रीको काउन्टर निर्मला पन्तको पोष्टरलाई बनाएको छ । सरकारको सामाजिक सुरक्षा योजना निकै राम्रो भएपनि केही समुह भने निरन्तर योजनालाई निशाना बनाएर प्रधानमन्त्रीलाई लखेटिरहेका छन् । त्यसैको एउटा कडी हो निर्मला पन्तको पोष्टर ।

प्रधानमन्त्री ओलीको पोष्टरमा ‘नयाँ युगको सुरुवात’ लेखिएको थियो । तर निर्मलाको पोष्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्दै सडक पोलमा राखिएको छ । केही समयअघि कांग्रेसले सरकार कहाँ छ भन्दै कटाक्ष गरेको थियो । सामाजिक सुरक्षा कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘सरकार काठमाडौंका सडक सफा गर्दैछ, मेलम्चिको पानी ल्याउँदैछ, कलंक नागढुंगा सडक बनाउँदैछ’ भन्ने जवाफ दिएका थिए । प्रमको जवाफपछि केही समुहले ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्दै फेरी अर्काे प्रोपगान्डा मच्चाएको छ ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्वीर राख्दै काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा गएराति पोस्टर टाँसिएको हो । निर्मलालाई न्याय दिन माग गर्दै टाँसिएको पोस्टरमा अंग्रेजीमा लेखिएको छ– न्याय दिन ढिलाइ गर्नु न्याय दिन इन्कार गर्नु हो । निर्मलाको आडमा सरकारविरोधी गतिविधिहरु सक्रिय भएका छन् ।

The post निर्मलाको आडमा प्रधानमन्त्रीलाई पोष्टर काउन्टरः ‘सरकार भेटियो, न्याय भेटिएन’ appeared first on YesKathmandu.com.

Comments