विमान खरिद प्रकरण : ‘अनियमितता’बारे छानबिन गर्न लेखा समितिद्वारा अनुगमन कार्यालयलाई निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमान सार्वजनिक खरिद ऐन बमोजिम भए–नभएको राय पेस गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ ।

समितिको बुधवार बसेको बैठकमा सभापति भरत शाहले विमान खरिद प्रकरणमा अनियमितता भएको तथा प्रक्रिया नपुर्याइएको विषय देखा परेकाले छानबिन गर्न निर्देशन दिए ।

सभापति शाहले समितिका सबै सदस्य (सांसद)हरुको रायअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयलाई छानबिनको जिम्मा दिइएको बताए ।

समितिको बैठकको निर्णयअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले सातदिनभित्र राय दिनुपर्ने सभापति साहले जानकारी दिए । समितिको बैठकमा सहभागी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले सार्वजनिक खरिद सम्बन्धी काममा सकेसम्म बढी प्रतिष्पर्धा हुनुपर्ने बताए ।

“नेपाल वायुसेवा निगमले वाइडबडी खरिद गर्दा अहिलेसम्म हामीसँग कुनै पनि छलफल र सल्लाह गरेको छैन,” उनले भने । कार्यालयका निर्देशक रामचन्द्र शर्माले सार्वजनिक खरिद ऐनमा ब्रान्डको नाम तोकेर सामान खरिद गर्न नपाइने भए पनि नेपाल वायुसेवा निगमले नामै तोकेर खरिद गरेको बताए । तर पनि सधैं निर्मातासँग किन्नुपर्छ भन्ने नहुने उनको भनाई थियो ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार प्रारम्भिक छानबिन गरेको लेखा समितिले वाइडबडी विमान गरिद प्रकरणमा साढे ६ अर्ब रुपैयाँ घोटाला भएको संकेत गरेको थियो ।

लेखा समितिले वाइडबडीमा स्वामित्व निगमको छ कि अरु कसैको भन्ने प्रश्न पनि गरेको थियो ।

The post विमान खरिद प्रकरण : ‘अनियमितता’बारे छानबिन गर्न लेखा समितिद्वारा अनुगमन कार्यालयलाई निर्देशन appeared first on YesKathmandu.com.

Comments