प्रधानमन्त्रीले भने, ‘अब चस्मामा पावर थपिइरहनुपर्दैन, सरकार त्यतिकै देखिन्छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार श्रमजीवी जनताका पक्षमा काम गर्न व्यस्त रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकार जुम्रा मार्न र सिन्को भाँच्नका लागि नभई देश बनाउनका लागि भएको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रमको मंगलवार काठमाडौँमा औपचारिक शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।सरकार खोज्नेहरुलाई प्रधानमन्त्री ओलीले अझै देख्नु भएन भनेर प्रतिप्रश्न पनि गरे । ‘सरकार कहाँ छ’ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकार खोज्नेहरुलाई म भन्न चाहन्छु– अझै देख्नुभएन ? अब चस्मामा पावर थपिइरहनुपर्दैन । सरकार त्यतिकै देखिन्छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘सरकार देख्नुभएन भने चस्मा लगाउनु पर्दैन, चस्मामा पावर पनि हाल्नु पर्दैन अब त तपाईँले नचाहेर पनि सरकार देख्नु हुन्छ ।’ ‘सरकार कहाँ छ भनेर श्रमजीविलाई सोध्नुस, दुख पाएका लाई सोध्नुस उहाँहरुबाट पाउनु हुनेछ सरकार कहाँ छ भन्ने जवाफ’, उनले भने ।

‘सरकार हरायो कहाँ छ भनेर पत्रपत्रिकामा कसैले सोधेछन् । कसैले सरकारले सिन्को पनि भाँचेन भनेको सुनियो, कसैले जुम्रा पनि मारेन सरकारले भन्ने पनि सुनियो’, प्रधानमन्त्रीले भने, ‘यो सरकार जुम्रा मार्न पनि होइन, अनि सिन्का भाँच्न पनि होइन यो त देश बनाउनका लागि हो ।’
प्रधानमन्त्रीले सरकार खोइ भनेर खोज्नेहरुलाई मजदुर र दुःख पाएका जनतालाई सोध्न आग्रह गरे । उनले केही दिनमा आउने मेलम्चीको पानीले सरकार कहाँ छ भन्ने जवाफ दिने पनि बताए ।

उनले अब जता फर्कियो त्यतै सरकार देखिन थालेपछि विरोधीहरु चुप लाग्ने बताए । ‘सरकार बनेको ९ महिना भइसक्यो, एयरपोर्ट किन बनेन भन्छन’, उनले भने, ‘९ महिनामा दुनियाँमा कहाँ एयरपोर्ट बनेको छ ?’

प्रधानमन्त्रीले निराश जनता देशका लागि खतरा हुने भएकाले जनतालाई निराश हुन नदिने प्रतिबद्धता दोर्होयाए ।
प्रधानमन्त्री ओलीले सरकार श्रमजीवीको साथमा भएको बताउँदै उनीहरुको भविष्य उज्ज्वल बनाउन लागिपरेको बताए । ‘जनता निराश हुनु पर्दैन। हुन दिइँदैन। यो देशमा जनताले जे चाहेको छ, त्यही भएको छ’, राणा शासन फालेकोदेखि नेकपा बनेकोसम्म उदाहरण दिँदै ओलीले भने, ‘विकास पनि हुन्छ ।’

आलोचकहरुलाई देखाउनकै लागि सामाजिक सुरक्षाको कार्यक्रम तामझाम गरिएको प्रधानमन्त्री ओलीको भनाई छ ।
‘एउटा कार्यक्रमको घोषणा गर्दा पनि यस्तो तामझाम किन भन्ने प्रश्न पनि उठ्यो’, उनले भने, ‘ यो तामझाम देखिनँ, थाहा पाइनँ भन्नेलाई देखाउन र सुनिनँ भन्नेहरुलाई सुनाउनका लागि हो ।

The post प्रधानमन्त्रीले भने, ‘अब चस्मामा पावर थपिइरहनुपर्दैन, सरकार त्यतिकै देखिन्छ’ appeared first on YesKathmandu.com.

Comments