कांग्रेस सोध्छ ‘सरकार कहाँ छ? प्रधानमन्त्री भन्छन् ‘सडकको धुलो हटाउदै कलंकीको बाटो बनाउँदैछ’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘सरकार कहाँ छ ?’ भन्दै केही दिनअघि कटाक्ष गरेको थियो । कांग्रेसको कटाक्षलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्षमै जवाफ दिएका छन् ‘सरकार काठमाडौंको धुलो सफा गरिरहेको छ, कलंकी नागढुंगाको सडक बनाइरहेको छ । मेलम्चीको पानी काठमाडौं ल्याउँदैछ । बालबालिकालाई बिद्यालय पठाएर र बृद्धालाई जीवन निर्वाह भत्ता दिदैछ ।’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केही दिनअघि देशमा सरकार भए नभएको अनुभुति नागरिकले गर्न नपाएको भन्दै ‘सरकार कहाँ छ ? के गरिरहेको छ ?’ भन्दै प्रश्न गरेका थिए । प्रश्न गरेकै दोस्रो दिन प्रवक्ता शर्माले ‘सरकार कहाँ छ भनेको त एनजिओको कार्यक्रममा पो रहेछ’ भन्दै ब्यङगे गरेका थिए ।

कांग्रेसका कडा प्रश्नमा प्रधानमन्त्री ओलीले पनि कठा नै जवाफ फर्काएका छन् । ‘अहिले केही ब्यक्तिहरु सरकारले जुम्रा पनि मार्न सकेन भन्दै हिडेका छन्, सरकार के जुम्रा मार्नलाई बनेको हो र ?’ प्रधानमन्त्रीले जवाफ फर्काए । नागरिकलाई निराशाबादी बनाउन केही दल र समुहहरु सक्रिय भएको भन्दै प्रधानमन्त्रीले चिन्ता समेत ब्यक्त गरे ।

‘जव नागरिकमा निराशा छाउँछ, त्यसपछि देश निकै ठुलो संकटमा पर्छ, अहिले त्यही संकट निम्त्याउन खोजिदैछ’ प्रधानमन्त्री ओलीले भने ‘हामीलाई बृद्धाको आर्शिरवाद, युवाको साथ छ, जति धारे हात लगाएपनि केही हुनेवाला छैन ।’

केही समययता राष्ट्रपतिले १८ करोडको सवारी साधन खरिद गर्न सरकारलाई दवाव दिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको बचाउ गर्दै प्रधानमन्त्रीले भने ‘कुनै रक्तपातपूर्ण अबस्थाबाट निर्माण भएका संस्था होइनन्, जनताको ताकतबाट बनेका संस्था हुन्, लोकतान्त्रिक मर्यादाभन्दा बाहिर गएर आलोचना गर्नुको औचित्य छैन ।’

The post कांग्रेस सोध्छ ‘सरकार कहाँ छ? प्रधानमन्त्री भन्छन् ‘सडकको धुलो हटाउदै कलंकीको बाटो बनाउँदैछ’ appeared first on YesKathmandu.com.

Comments