नेविसंघको महाधिवेशन पुष अन्तिम साता, यस्तो छ कार्यतालिका

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशनको मिति तय भएको छ ।

नेविसंघ केन्द्रीय कार्य समितिको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा गर्ने मितिसहितको कार्यतालिका तय गरेको हो ।

बैठकपछि पत्रकार सम्मेलन गरी नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारको जनविरोधि गतिविधिलाई रोक्न सशक्त बन्नुपर्ने भएकाले पुसको अन्तिम साता सम्पन्न हुने गरी महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको जानकारी दिए ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकले दुई महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । त्यसै समयसीमा भित्र पूरा हुने गरी नेविसंघले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।

पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको गुटबन्दीका कारण नेविसंघको १२ औं महाधिवेशन पटक–पटक स्थगित हुँदै आएको छ ।

यस्तो कार्यतालिका :

नेविसंघले आगामि मंसिर २२ गतेभित्र मावि, उच्च मावि र क्याम्पसहरुको अधिवेशन सम्पन्न गर्ने, मंसिर २५ गतेभित्र स्थानीय गाउँ नगर अधिवेशन गर्ने कार्यक्रम नेविसंघले तय गरेको छ ।

त्यसैगरी पुस ८ गतेभित्र काठमाडौं उपत्यका भित्रका विश्वविद्यालयहरुका अधिवेशनहरु सम्पन्न गरिसक्ने नेविसंघले जनाएको छ । अध्यक्ष महरले पुस २० गतेसम्म महाधिवेशनको प्रतिनिधि चयन हुने गरी कार्य तालिका तय गरिएको बताए ।

तोकिएको समयभित्र अधिवेशन नगर्ने जिल्ला समिति तत्काल भंग गर्ने संघको निर्णयमा उल्लेख गरिएको छ ।

The post नेविसंघको महाधिवेशन पुष अन्तिम साता, यस्तो छ कार्यतालिका appeared first on YesKathmandu.com.

Comments