प्रदेश १ मन्त्रिपरिषद् बैठकको निर्णय : प्रदेश योजना आयोगको उपाध्यक्षमा प्याकुरेललाई नियुक्त

विराटनगर । बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले ‘प्रदेश योजना आयोग’ गठन गरेको छ । बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले बताए ।

बैठकले आयोगको सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गर्ने निर्णय गरेको छ । मोरङको इटहरा स्थायी घर भएकी भण्डारी काठमाडौंमा बस्दै आएकी थिइन् । यसैगरी अर्का सदस्य लक्सम पाँचथर जिल्लाका हुन् । अर्थशास्त्र विषयमा विद्यावारीधि उनी हङकङ, लण्डन लगायतका देशमा समेत काम गरी सकेका छन् । पछिल्लो समय उनी काठमाडौं नै बस्दै आएका थिए ।

प्रदेश योजना आयोग पाँच सदस्य रहने छ । बाँकी २ जना सदस्य नियुक्त गरिने मन्त्री कार्कीले बताए । आयोगका उपाध्यक्षले राज्य मन्त्री सरहको सेवा सुविधा पाउने छन् भने अन्य सदस्यहरुले सहायकमन्त्री सरहको सेवा सुविधा पाउने छन् ।

सरकारले यस अघि रमेशचन्द्र पौडेलको संयोजकत्वमा विज्ञ समिति गठन गरेको थियो । तीन महिनाको समयावधि दिएको समितिको म्याद सकिएको छ । उक्त समितिको म्याद भने सरकारले थप गरेको छैन् । योजना आयोग नबन्दसम्मका लागि भन्दै सरकारले विज्ञ समिति बनाएको थियो ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रदेश सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधिलाईसमेत स्वीकृति दिने निर्णय गरेको प्रवक्ताले बताए ।

यसैगरी कोशी प्रतिष्ठान विधेयक मस्यौदाकालागिलाई स्वीकृत दिने निर्णय समेत गरेको छ । प्रदेश विकास स्वयंमसेवक परिचालन कार्यक्रम २०७५ लाई स्वीकृत गर्दै बैठकले झापा दमकको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको मन्त्री कार्कीले वताए ।

यसैगरी बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा कोशी कटान नियन्त्रण परियोजना अघि बढाउन तथा मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुम र फिदिम दुई सहरलाई नयाँ सहरको रुपमा विकास गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यी आयोजनाका लागि केन्द्रीय सरकारले १७ करोड विनियोजन गरी सकेको छ ।

Comments