इंग्लिस प्रिमियर लिगः म्यान्चेष्टर युनाइटेड र चेल्सीले जित निकाल्दा आर्सनल बराबरीमा रोकियो

काठमाण्डौ । इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेड र चेल्सीले जित निकाल्दा आर्सनल भने बरावरीमा रोकिएको छ । आईतबार राति घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा म्यान युले एर्भटनलाई २–१ ले हराएको हो । म्यान युले २७ औ मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता लिएको थियो । ४९ औ मिनेटमा एन्थोनी मार्टियलले म्यान युको अग्रतालाई दोब्बर पारे । ७७ औ मिनेटमा एर्भटनका जिल्फी सिगुर्सनले पेनाल्टीमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर दुवै टोलीबाट थप गोल हुन नसकेपछि म्यान युले ३ अंक जोड्न सफल भएको हो । म्यान युले ८ खेलबाट १७ अंक सहित तालिकाको ८ औ स्थानमा छ । १५ अंक सहित एर्भटन नवौ स्थानमा छ ।

त्यसैगरि आइतबार नै भएको अर्को खेलमा चेल्सीले बर्नलीलाई ४ – ० ले हराएको हो । बर्नलीको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन अल्भारो मोरटा, रोस बार्क्ली, लफ्टस चिक र विलियनले समान एक एक गोल गरे । बर्नलीविरुद्ध एकतर्फी खेल खेलेको चेल्सीले २२ औं मिनेटमा मोरटाको गोलबाट अग्रता बनाएको थियो । खेलको ५७ औं मिनेटमा बार्क्लीले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । खेलको ६३ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई ३ – ० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा चिकले गोल गर्दै चेल्सीलाई ४ – ० को सहज जित दिलाए । जितसंगै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीले १० खेलबाट २४ अंक जोडेको छ । पराजित बर्नली ८ अंक जोडेर १५ औं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको २६ अंक छ । यस्तै एक खेल कम खेलेको सिटी २३ अंक सहित तेस्रो स्थानमा छ ।

उता आइतबार नै भएको खेलमा आर्सनल क्रिष्टल प्यालेससंग २ –२ गोलको बराबरीमा रोकिएको हो । आर्सनल उसैको मैदानमा क्रिष्टलसंग बराबरीमा रोकिएको हो । आर्सनलका लागि ग्रानीट जाका र पेरिक एम्रिक आबुमियाङले एक एक गोल गरे । क्रिष्टलका दुवै गोल लुका मिलिभोजेभिचले पेनाल्तिबत गरेका थिए । बराबरीसंगै दुवैले १ – १ अंक बाडेका छन् । यो बराबरीले आर्सनलले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानको आर्सनलको २२ अंक छ । ८ अंक जोडेको क्रिष्टल आठौं स्थानमा छ ।

Comments