सरकारको काममाथि प्रश्न उठ्न थालेको छ,अल्लि भन्याजस्तो काम भएन कि : प्रचण्ड

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको काममाथि प्रश्न उठ्न थालेको बताएका छन् । दसैंतिहारलगायत पर्वको अवसर पारेर आइतबार भरतपुरमा आयोजित शुभकामना कार्यक्रममा उनले सरकारले आफ्नो काम गरिरहेको बताए । ‘अल्लि भन्याजस्तो काम भएन कि, पार्टी एकता जति छिटो तलसम्म भइसक्नुपथ्र्यो भएन कि, सरकारले जति छिटो काम गरेर देखाइहाल्नुपथ्र्यो देखाएन कि भन्ने प्रश्न धेरैको मनमा छन्,’ नेकपा चितवनले आयोजना गरेको कार्यक्रममा दाहालले भने। पार्टीको तल्लो तहको एकीकरण केही दिनभित्रै टुंगिने उनले बताए।

उनले पूर्वाधार तयार पार्ने विषयमा केही महत्त्वपूर्ण काम अग्रगतिमा भएको पनि उल्लेख गरे। दुवै छिमेकी देशसँगको सम्बन्ध सुधारले आर्थिक विकासमा आवश्यक पर्ने राजनीतिक वातावरण तयार भएको उनको भनाइ थियो। ‘अब ८–१० वर्ष बाँचे हामीले पनि देख्न पाउँछौं, तपाईं युवाहरूले त भोग्न पाइहाल्नु हुनेछ। उच्च विकासको त्यस्तो परिस्थिति अब आउँदै छ,’ दाहालले भने। कम्युनिस्ट सरकारले समयमा जे गर्नुपर्ने हो त्यो सम्पन्न गरेको उनले बताए। ‘संविधानमा व्यवस्था भएका मौलिक हकसम्बन्धी कानुन बनाउनुपर्ने थियो। नबने संवैधानिक संकट आउँछ कि भन्ने डर थियो तर हामीले समयमै सबै मौलिक हकका कानुन बनायौं,’ उनले भने।

संसद् र सरकार यस्ता काममा बढी लागेका कारण जनताले अनुभूति गर्ने गतिविधि देखा नपरेको उनको भनाइ छ। ‘यो कानुन निर्माणको प्रक्रियासँग जनता जानकार छैनन्। अनि कानुन बन्यो त बन्यो, यसले बाटोको खाल्डो पुरिने हो र भन्ने पनि छ। तर जे बनेका छन् ती कानुनले मुलुकको पूर्वाधार निर्माणमा महत्त्वपूर्ण देन दिनेछन्,’ दाहालले भने।

Comments