काठमाडौँ । प्रधानमन्त्री केपी ओली दुई दिनदेखि मौसमी रूघाखोकी र हल्का ज्वरोको समस्याका कारण निवासमै आराम गरिरहेका छन् । चिकित्सकले थप तीन दिन आराम गर्न सुझाएका छन् ।
प्रधाननमन्त्रीका निजी चिकित्सक डा.दिलिप शर्माका अनुसार उनको स्वास्थ्यस्थितिमा शनिबारको तुलनामा आइतबार सुधार देखिएको छ। मौसमी रूघाखोकी र हल्का ज्वरो देखिएपछि प्रधानमन्त्रीलाई भेटघाट, बैठक र भीडभाडभन्दा टाढा रहन सल्लाह दिएका हौुं डा. शर्माले भने।
दशैं, तिहार, नेपाल सम्वत, छठलगायतका चाडपर्वका उपलक्ष्यमा नेकपाले शनिवार आयोजना गरेको चियापानमा प्रधानमन्त्री ओली उपस्थित भएनन्। सञ्चो नभएर कार्यक्रममा उपस्थित नभएको भनिएपछि उनको स्वस्थ्यस्थितिबारे चासो बढेको हो।
चिकित्सकका अनुसार हाल प्रधानमन्त्री ओलीलाई एउटा साधारण एन्टिवायोटिक र रूघाखोकीको औषधी दिइएको छ। उपचारमा सलग्न चिकित्सकले उनलाई थप तीन दिन औषधी सेवनसंगै निवासमै आराम गर्न सल्लाह दिएका छन्।
यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले एक प्रेस नोट जारी गरी प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह बमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रहेको उल्लेख गरेका छन् । प्रेस नोटमा स्वास्थ्यमा सुधार भएको उल्लेख गर्दै पूर्ण सुधार भएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने उल्लेख छ ।
हेर्नुहोस्, विज्ञप्ति :
Comments
Post a Comment