प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छः चिकित्सक

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ  । उनलाई स्वासनलीको संक्रमण (रेस्पिरेटोरी ट्य्राक्ट इन्फेक्सन) भएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

गत शुक्रबार देखि बिरामी परेका प्रधानमन्त्री ओलीकोे स्वास्थ्यमा सुधार नदेखिएपछि सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । सुरुमा सामान्य रुघाखोकी लागेका उनलाई छाती दुखाइ र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको हो । एक दशकअघि मिर्गौला प्रत्यारोपण गरेकाले उनलाई चाँडै संक्रमण हुने समस्या छ ।

सेन्टरका निर्देशक प्रा डा. उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म पुग्न नदिन चिकित्सकहरूले प्रयास गरिरहेको बताए ।सिसियूमा राखिएका प्रधानमन्त्रीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह र डा. प्रकाश काफ्ले, छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास र एनेस्थेसिया डा. सुवास आचार्यको टोली खटिएको छ । केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।

ओलीले आम सर्वसाधारणलाई दसैँको टीका लगाइदिए । प्रधानमन्त्रीले टीका लगाइदिने सार्वजनिक घोषणा नै गरेपछि पार्टी कार्यकर्ता, सर्वासाधारण र शुभचिन्तकको बालुवाटारमा टीका थाप्न भिड लाग्यो । भिडभाडमा लामो समय रहँदा नै संक्रमण भएको प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले बताइन् । मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति भिडभाडमा ५ मिटरको दूरीमा बस्दासमेत श्वासप्रश्वासको माध्यमबाट संक्रमण फैलन्छ ।

दसैँको भिडभाडकै कारण मौसमी फ्लु (रुघाखोकी)को संक्रमण भएका प्रधानमन्त्रीलाई निजी चिकित्सक डा. दिलीप शर्माले घरमै उपचार गराएका थिए । गत शुक्रबार शिक्षण अस्पतालमा छातीको एक्सरे पनि गरिएको थियो । तर, कुनै समस्या नदेखिएपछि आत्तिनु नपर्ने सल्लाह चिकित्सकले दिएका थिए । तर, रगतमा सुगरको मात्रा पनि बढ्यो । घरमै नियन्त्रणको प्रयास सफल भएन । आइतबार निरन्तर खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल ल्याइएको निजी चिकित्कसले बताए । प्रधानमन्त्रीको शरीर दुई दिनदेखि सुन्निएको छ । गाला, अनुहार र छाती रातो भएको छ । रगतमा चिनीको मात्रा असन्तुलित छ । तर, मौसमी फ्लु भनेर चिनिने एच वन एन वन (स्वाइनफ्लु) भने नेगेटिभ छ । ज्वरो भने आएको छैन । चिकित्सकका अनुसार स्वासनलीमा संक्रमण देखिएपनि फोक्सो, मुटु र मिर्गौलासम्म पुगेको छैन । प्रधानमन्त्रीको स्वास्थ्यको नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई पार्टीका शीर्ष नेताहरूले अस्पताल गएर भेटेका छन् । अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सचिवालय सदस्यद्वय एवं पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल र माधवकुमार नेपालले अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । यसैगरी गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव ईश्वर पोखरेल, उद्योगमन्त्री मातृका यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत पनि अस्पताल पुगेका थिए । तर, भिडभाडले थप जोखिम बढाउने भन्दै चिकित्सकले भेटघाटलाई कम गराएका छन् ।

Comments