काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद दिएका छन् ।
ओली सोमबार विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
मौसमी रुघाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू अस्पताल भर्ना भएको उनले बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको समेत बताएका छन् ।
‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ । यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।’
प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका अनपेक्षित घटनाप्रपति आफू संवेदनशील रहेको समेत बताएका छन् । धर्म संस्कृति वा दलीय बहसको नाममा आपसी सद्भाव खलबल्याउने कुनै गतिविधि स्वीकार्य नहुने भन्दै उनले यस्तो काम नगर्न र नगराउन आग्रह गरेका छन् ।
अपराध कर्ममा संलग्न हुने, प्रमाण नष्ट गर्ने वा अवराधी बचाउनेलाई कडा कारबाही गर्ने उनले बताएका छन् ।
चिकित्सकहरुले आफूलाई छिट्टै डिस्चार्ज हुने जानकारी गराएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् । ‘चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार छिट्टै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु’ उनले भने ।
हेर्नुहोस् प्रधानमन्त्रीको सन्देश
Comments
Post a Comment