पाहुना टोली वेष्ट इण्डिजमाथि भारतको फराकिलो जित

काठमाण्डौ । पाहुना हटोली वेष्ट इण्डिजलाई चौथो एकदिवसीय क्रिकेटमा घरेलु टोली भारतले फराकिलो रनले हराएको छ । सोमबार भएको खेलमा भारतले वेष्ट इण्डिजलाई २ सय २४ रनको फराकिलो अन्तरले हराएको हो । मुम्बईमा भएको खेलमा भारतले दिएको ३ सय ७८ रनको लक्ष्य पच्छयाउँदै जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिजले ३६ ओभर २ बलमा अलआउट हुँदै १ सय ५३ रनमात्र बनाउन सफल भयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ७७ रन जोडेको थियो ।

भारतको उच्च योगफलमा रोहित शर्मा र अम्बाती रायडुले शतकीय पारी खेलेका थिए । रोहितले १६२ रनको योगदान गर्दा रायडुले १०० रनको योगदान दिएका थिए । यस्तै शिखर धवनले ३८ रन जोड्दा महेन्द्र सिंह धोनीले २३ तथा कप्तान विराट कोहलीले १६ रन जोडे । वेष्ट इण्डिजका केमर रोचले २ विकेट लिए ।

वेष्ट इण्डिजका जासन होल्डरले अविजित ५४ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै केमो पाउलले १९ रन जोड्दा मार्लोन स्यामुएल्सले १८ रन जोडे । वेष्ट इण्डिजलाई सस्तैमा रोक्न भारतका खलीलल अहमेद र कुलदिप यादवले समान ३–३ विकेट लिए ।
जितसंगै भारत पाँच खेलको सिरिजमा २ – १ को अग्रता बनाएको छ । यसअघि पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल बराबरी भएको थियो । तेस्रो खेल भने वेष्ट इण्डिजले जितेको थियो ।

Comments